
काठमाडौँ ,११ मंसिर। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा तोकिएको जरिवाना रकम नतिर्ने व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई एक महिनाभित्र राजस्व दाखिला गर्न कडा निर्देशन जारी गरेको छ ।
विभागले बिहीबार (२०८३ मङ्सिर ११ गते) एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै जरिवाना रकम दाखिला गरी सोको प्रमाण पेस गर्न अल्टिमेटम दिएको हो ।
विभागका अनुसार उपभोक्ताको हक, हित र अधिकार संरक्षण तथा स्वच्छ र प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि विभाग र मातहतका कार्यालयहरूबाट विभिन्न मितिमा नियमित तथा आकस्मिक बजार अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा प्रचलित कानुन विपरीत व्यवसाय सञ्चालन गरेको पाइएका फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम निरीक्षण अधिकृतबाट तत्काल जरिवाना गरिएको थियो । तर, कतिपय व्यवसायीहरूले हालसम्म पनि उक्त जरिवाना रकम सरकारी राजस्व खातामा दाखिला गरी सोको प्रमाण विभागमा पेस नगरेको अभिलेखबाट देखिएको विभागले जनाएको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५, उपभोक्ता संरक्षण नियमावली २०७६, प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४, साझेदारी ऐन २०२०, कम्पनी ऐन २०६३, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, गुणस्तर (प्रमाण–चिन्ह) ऐन २०३७ तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ लगायतका प्रचलित कानुन बमोजिम जरिवाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र रकम बुझाउन सूचित गरेको छ ।
