मेडिकल काउन्सिलको नयाँ व्यवस्था, प्रमाणपत्रका लागि कर चुक्ता र प्यान चाहिने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर १२, शुक्रबार (१३ मिनेट अघि)
  • १७ पटक पढिएको
मेडिकल काउन्सिलको नयाँ व्यवस्था, प्रमाणपत्रका लागि कर चुक्ता र प्यान चाहिने

काठमाडौँ,११ मंसिर। नेपाल मेडिकल काउन्सिलले विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि आवेदन दिँदा थप आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ मा भएको व्यवस्था तथा अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको पत्राचार बमोजिम काउन्सिलको पूर्ण बैठकको निर्णयअनुसार आज बिहीबार यो सूचना प्रकाशित गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार काउन्सिलबाट जारी गरिने सबै प्रमाणपत्रका लागि स्थायी लेखा नम्बर र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि भने थप कागजात समेत पेस गर्नुपर्ने काउन्सिलले जनाएको छ।

स्वदेशमा कार्यरतको हकमा हाल कार्यरत रहेको खुल्ने गरी कार्यरत संस्थाबाट जारी रोजगारीसम्बन्धी पत्र तथा विदेशमा कार्यरतको हकमा सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियामक निकायबाट जारी गुड स्ट्यान्डिङ प्रमाणपत्र अनिवार्य गरिएको छ।

साथै, उल्लेखित अवधिमा रोजगारीमा संलग्न नभए सोको ब्यहोरा स्पष्ट खुलाइ निवेदन पेस गर्नुपर्नेछ।   निमित्त रजिस्ट्रार डा.सम्राट् पराजुलीद्वारा जारी सूचनाअनुसार यो व्यवस्था आगामी मङ्सिर १५ गतेदेखि लागू हुनेछ।

पेस गरिएका विवरण वा कागजात झुट्टा वा गलत पाइएमा अथवा पछि रोजगारीमा संलग्न रहेको प्रमाण प्राप्त भएमा प्रचलित कानुन र नियमावलीबमोजिम कारबाही हुनुका साथै भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र रोक्का समेत हुन सक्ने चेतावनी दिइएको छ।

काउन्सिलले सम्पूर्ण चिकित्सकहरूलाई प्रमाणपत्रका लागि आवेदन दिँदा वास्तविक तथा सत्य विवरण उल्लेख गरी प्रमाणित कागजात मात्र पेस गर्न आग्रह गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस