चैत २१ गते
अहिले मौसममा फेरि अर्को परिवर्तन देखिएको छ । बिहान जाडो हुने र दिउँसो गर्मी हुने मौसम देखिन थालेको छ । हरेक वर्ष चैतको अन्तिम र वैशाखको सुरुमा हुने मौसमको रुप यस्तै हुन्छ । यस्तो मौसममा साँझसम्म गर्मी लागिरहन्छ र रात छिप्पिँदै गएसँगै विस्तारै शीतल हुँदै बिहानी समयमा जाडो हुन्छ । दिउँसो घाम चर्किदै जाँदा घरभन्दा बाहिर निकै गर्मी हुन्छ । घामले अनुहार पोल्छ, जिउ पोल्छ । उस्तै परे पछेआ हावा अलिक तातोजस्तो पनि हुन्छ र नभए पनि पछेआ हावाले मानिसको ओठ र तालु सुकाउँछ ।
ओठ र तालु सुकाउँदा यदि घामका मानिसले तुरुन्तै चिसो पानी खायो भने फेरि सर्दी लाग्छ भन्ने ग्रामीण क्षेत्रका मानिसहरुको भनाइ छ । यसकारण अहिलेको समयमा गर्मीबाट पनि जोगिनुपर्ने र जाडोबाट पनि जोगिनुपर्ने देखिन्छ । जाडो र गर्मी दुवैलाई वेवास्ता गर्ने मानिस अहिले बढी बिरामी हुन्छन् भन्ने गाउँघरका मानिसले पहिलेदेखि नै भन्दै आएका छन् । अहिलेको मौसममा बिहानको जाडोबाट जोगिन आफूलाई जाडो मौसमको जस्तो र दिउँसो गर्मीबाट जोगिन आफूलाई गर्मी मौसमको जस्तो अनुकूल बनाइराख्नु परेको छ ।
पहिलेदेखि नै गाउँघरमा भन्दै आएको छ कि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै जाती हुन्छ । यसले अहिलेको मौसमको लागि के संकेत गर्दछ भने खाना र दैनिक जीवनयापनका अन्य पक्षलाई पनि धेरै जाडोको जस्तो वा धेरै गर्मीको जस्तो व्यवहार गर्नु हुँदैन । जाडो अहिले जानै लागेको छ भने जाडो कटिसक्यो भन्ने किसिमको दैनिकी अपनाउने हो भने पनि बिरामी पर्ने डर हुन्छ र गर्मी धेरै आइसक्यो भनेर धेरै गर्मीको जस्तो जीवनशैली अपनाउने हो भने पनि बिरामी पर्ने डर हुन्छ । जाडो र गर्मीको यो संक्रमणकालमा हामीले आफूलाई दुई मौसमबाट जोगिनु छ अर्थात् दुई किसिमको मौसमको व्यवहारमा आफूलाई केही समय व्यवहृत गर्नुछ भन्ने सोचाइ राख्नु आवश्यक छ ।
मौसमी सावधानीमा शरीर र स्वास्थ्यलाई हामीले विचार गर्नु आवश्यक छ । व्यक्तिगत तथा पारिवारिक स्वास्थ्यलाई मौसमसित जोडेर हेर्नु परेको छ । यस वर्ष अहिलेसम्मको समयलाई विचार गर्ने हो भने करिब सात महिनादेखि राम्ररी पानी परेको छैन । यसले गर्दा सुख्खापन धेरै छ । वातावरणमा सुख्खापन धेरै भएकोले सम्भव भएसम्म पानी र पानीजन्य पदार्थको सेवन बढी मात्रामा गरिनु आवश्यक छ । अहिलेको मौसममा धेरै चिसो पेयपदार्थको प्रयोग नगर्न सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् भने सम्भव भएसम्म तातो पानीको प्रयोग गर्ने सल्लाह पनि दिन्छन् । जसले जे जति वा जस्तोसुकै सल्लाह दिए पनि आखिरमा हामीलाई आफ्नो शरीर र स्वास्थ्यको ख्याल आफैले राख्नु पर्दछ । यसकारण अहिलेको मौसमले निर्देश गरेअनुसारको सावधानी अपनाउनु आवश्यक छ ।