वर्तमानकाल समाचारदाता । रौतहट । चैत २९ गते
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको चरम उन्मादमा लागेर राम्रो नराम्रो छुट्याउन नसक्ने अवस्थामा पुगेको बताए । चन्द्रपुरमा आयोजित नेकपा एमाले रौतहटको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीको बुद्धी बिगिँ्रदा मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाए । उनी बसेको कुर्सीमा धेरै गर्मी भएर सत्ताको उन्माद लागेकाले प्रधानमन्त्री ओलीले सत्य असत्यको पहिचान गुमाइसकेका छन् । नेपालले भने, ‘ओलीको कर्तुतले मुलुकमा यो दुर्गती बढेको छ ।’ ओलीमा अहंकार र सत्ताको चरम गर्मीले बुद्धी बिग्रीएको आरोप लगाए । नेता नेपालले आफू अहिले पदका लागि नभई पार्टी र मुलुकलाई बचाउने अभियानमा जनताको माझमा आईपुगेको स्पष्ट पारे । ओलीसँग आफ्नो कुनै रिसिइवी नरहेको भन्दै उनको सिद्धान्त, सत्य न्यायको लागि पार्टीलाई बचाउने अभियानमा लागेको बताए । पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले दिएको म्याण्डेडलाई कायम राख्न र ओलीबादको कारण एमालेलाई जोगाउन राष्ट्रिय अभियानमा आफू निस्किएको भन्दै पार्टीलाई जिवन्त राख्दै यहाँसम्म पुर्याउन मदन भण्डारीपछि आफूहरु लाग्नुपर्ने धारणा व्यक्त गरे । प्रदेश नम्वर २ का अध्यक्ष तथा पार्टीका नेता घनश्याम भुसालले मुलुकको हितका लागि प्रधानमन्त्री केपी ओलीलाई अगुवा बनाएको तर अहिले ओलीले पाटी विपरित कार्य गर्न थालेको उल्लेख गरे । ओलीलाई ‘तपाईले गलत गर्नुभयो’ उल्टै विभिन्न धम्की आउने तथा डर धाक देखाउने जस्ता प्रवृति यतिखेर हावी हुँदै गएको टिप्पणी गरे । उनले ओली र ओली पक्षको यस्तो कदमको आलोचना गरे । ओलीवादीबाट पार्टीलाई बचाउन आफूहरु देशभरी नै अभियान संचालन गरेर संगठनलाई बलियो बनाउने कार्यमा लागेको बताए । कार्यक्रममा सांसद सरला यादव, कल्याणी खड्का, रामकुमार भटराई, कमल यादव, नागेन्द्र चौधरी, युवा नेता शम्भु साह सहितका नेता तथा उल्लेख्य संख्यामा एमाले कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।