वर्तमानकाल समाचारदाता । रौतहट । बैशाख ६ गते
नेपाली काँग्रेसले रौतहटका एक मेयर लाई आज सोमबार स्पष्टीकरण सोधेको छ । तत्कालिन नेपाल लोकतान्त्रिक फोरम चाहीँ नेपाली काँग्रेस पार्टीमा समायोजन भइ सकेको अवस्थामा दलगत हिसाबले उनी स्वतः नेपाली काँग्रेस भएको हो । तर नेपाली काँग्रेस छोडी एमालेको ओली समूहमा लागेको भन्दै नेपाली काँग्रेसले एक जना मेयर लाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
काँग्रेसले रौतहटको इशनाथ नगरपालिकाका मेयर संतोष कुमार मेहतालाई स्पष्टीकरण सोधेको हो ।
उनलाई आजै स्पष्टीकरण पत्र समेत थमाईएको बताइएको छ । उनी तत्कालिन नेपाल लोकतान्त्रिक फोरम बाट चुनाव लडेर मेयरमा निर्वाचित भएका थिए ।
काँग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरम एक भएपछि अहिले काँग्रेसलाई नै छोडेर एमालेमा लागेको भन्दै काँग्रेसले उनलाइ २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
यदि काँग्रेस परित्याग नगरेको हो भने २४ घण्टा भित्रमा चितबुझदो लिखित जवाफ सहित स्पष्टीकरण दिन पार्टीले मेयर लाई निर्देशन दिएको छ ।
चितबुझदो जवाफ नदिनेलाई पार्टीबाट नै निस्कासन गरी पदमुक्त समेत गर्ने स्रोतले जनाएको छ ।
योसँगै मेयर संतोष मेहताको पद धरापमा समेत परेको देखिएको छ । नेपाली काँग्रेसका जिल्ला सभापती कृष्ण यादव द्धारा हस्ताक्षर सहितको स्पष्टिकरण पत्रमा उल्लेख रहेको छ ।
यता पार्टिले स्पष्टीकरण सोध्दैमा कसैको पद नजाने जानकारहरू बताउँछन् । कसैकसैले स्पष्टीकरणको सिजन नै चलेको हो कि भनेर प्रश्न पनि गरेका छन् । यस विषयमा नगरप्रमुख मेहता सँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन् ।