
सिरहा, १३ साउन। सुनसरी जिल्लामा भएको घटनापछि धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा द्वेषपूर्ण अभिव्यक्ति फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सबै नागरिकलाई संयमित हुन आग्रह गरेको छ ।
बुधबार सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सूचना जारी गरी पुराना घटनालाई वर्तमान घटनासँग जोडेर भ्रम सिर्जना गर्ने, कुनै धर्म, समुदाय, संस्कृति वा आस्थामाथि लक्षित गरी घृणा फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेका हुन् ।
प्रशासनले सिरहा जिल्लामा विभिन्न जातजाति, भाषा, धर्म तथा समुदायबीच कायम रहेको आपसी एकता, सद्भाव, सहिष्णुता र भाइचारालाई जोगाउनु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरेको छ । साथै, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सामाजिक सद्भाव संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ ।
साथै, सामाजिक उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुग्ने गतिविधि गर्ने वा कानुनविपरीत कार्यमा संलग्न हुने जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।
