बैशाख १४ गते
अहिले दिउंसो अत्यन्त धेरै गर्मी बढ्न थालेको छ । दिउंसो अत्यधिक घाम लाग्ने र वातावरण नै तातो हुने गरेको छ । अहिले पनि भारतको प्रसिद्ध केदारनाथतिर भारी बर्फबारी भएको पनि देखिएको छ । यसैले राति वा बिहानतिर जाडोको अनुभूति पनि हुन्छ । केही दिन पहिले आएको हावाहुरीले आकाश सफा भएको छ । वातावरणमा केही सुधार भएको छ तर धुलो उड्न छाडेको छैन । अत्यधिक गर्मी बढ्न थालेकोले दिउंसोको घाममा अब सडकमा हिंड्नेहरु निक्कै कम भएका छन् । घामका मारे बालबालिकाहरु पनि बाहिर खेल्न निस्किरहेका छैनन् ।
गर्मीले स्वास्थ्यमाथि असर पु¥याउंछ, यो तत्काल देखिने हुनाले घामले पोलेको समयमा कामै नपरी खासै बाहिर मानिस निस्केको देखिंदैन तर कोरोनाको यति धेरै डर रहेको वर्तमानमा कोरोनाप्रति सचेतना भने अत्यन्तै न्युन रहेको देखिएको छ । कोरोनाको कारण देशभर आजदेखि सम्पूर्ण शिक्षालय बन्द भएका छन् तर अन्य मानवीय गतिविधिमा भने खासै प्रभाव परेको देखिएको छैन । अहिले गम्भीर नभए समाजमा गम्भीर खतरा नआउला भन्न सकिन्न । यसैले सबैले सचेत हुनु जरुरी छ । सबैले सचेतना अपनाउनु आवश्यक छ ।
जसरी अत्यधिक घाम चर्केर घरबाहिर घामले पोलेको समयमा घरका केही पनि बाहिर निस्किन मानेका छैनन्, त्यसै गरी कोरोनाको राप र तापलाई पनि डर मान्नु आवश्यक छ । अहिलेको अवस्थामा कोरोनाबाट विश्व नै त्रसित छ । छिमेकी देश भारतमा कोरोनाले गर्दा गम्भीर अवस्थाको सिर्जना भइसकेको सञ्चारमाध्यमहरुले देखाइरहेका छन् । यस अवस्थामा हामीले कोरोनाको प्रसारलाई रोक्न सम्भव भएसम्मको सावधानी र सुरक्षाको उपाय अपनाउनु अत्यावश्यक भइसकेको छ । गर्मीबाट जोगिन जुन बुद्धिमानी सबैले देखाउने गरेका छौं, केही दिनसम्मको लागि कोरोनाबाट जोगिनको लागि पनि सोही स्तरको बुद्धिमानी प्रदर्शन गर्नु आवश्यक छ ।