ओम प्रकाश यादव । रौतहट । बैशाख १४ गते
नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका रौतहटका पाँच जना उपमेयरलाई कार्यवाही गरेको छ ।
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भइ अहिले नेकपा एमालेमा लागेको भन्दै माओवादी केन्द्रले रौतहटबाट निर्वाचित पाँच जना उपमेयरलाई कार्यवाही गरेको हो ।
जिल्लाको मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल, माधवनारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साह, देवाही गोेनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी महतो र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीता देवी साहलाई माओवादी केन्द्रले पार्टीबाट निष्काशन गरेको हो ।
आइतवार माओवादी केन्द्रले एक विज्ञप्ती जारी गर्दै चितबुझदो स्पष्टीकरण नदिएको भन्दै पार्टीको जिल्ला सदस्य समेत रहेको उनिहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको जनाएको हो ।
पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डको नाम र हस्ताक्षर रहेको विज्ञप्तीमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट चुनाव जितेको र अहिले एमालेमा लागेको भन्दै कार्यवाही स्वरुप रौतहटका ती उपमेयरहरुलाई पार्टीबाट निष्काशित गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कार्यवाहीमा परेका पाँचै जना उपमेयरहरु नेकपा माओवादीबाट निर्वाचित भएका थिए ।
२०७५ साल जेठ ३ गते माओवादी र एमाले पार्टीबीच एकीकरण हुँदा नेकपा पार्टी कायम भएको थियो ।
दुवै पार्टीबीच एकीकरण भएको तिन वर्षमै सर्वोच्च अदालतले २०७७ साल फागुण २३ गते नेकपा खारेज गरेपछि पुन दुवै पार्टी एमाले र माओवादी साविककै पार्टी अर्थात नेकपा माओवादी र नेकपा एमाले नै कायम भएको छ ।
माओवादीबाट निर्वाचित भएका उनिहरु एमालेमा प्रवेस गरेपछि माओवादीले उनिहरुसँग केहि दिन अघि मात्रै स्पष्टीकरण सोधेको थियो तर उनिहरु चितबुझदो जवाफ नदिएकोले पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको पार्टी अध्यक्ष प्रचण्डद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माओवादीले ति उपप्रमुखहरुलाई पार्टीबाट निष्काशन गरिएको भन्दै राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम निर्वाचन आयोग, पार्टीको जिल्ला समिति रौतहट, सम्बन्धित पालिका र जिल्ला निर्वाचन कार्यालय रौतहटलाई जानकारीका लागि पत्र समेत पठाएको छ ।
कुनै पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा स्वत पदमुक्त हुने कानुनी व्यवस्था रहेको छ ।
राजनीतिक दल सम्बन्धी एन २०७३ मा दल त्याग गर्न नहुने भनिएको छ । सो एन अनुसार दल त्याग गर्ने सांसद, प्रदेश सांसद वा स्थानीय तहको सदस्यको निर्वाचित भएको पद दल त्याग गरेको मितिदेखी नै स्वत रिक्त हुने व्यवस्था रहेकोले दल त्यागेका रौतहटका ति उपमेयरहरु पद पनि अब जाने भएको छ ।
यसैविच माओवादी केन्द्रले रौतहटको कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहा र मौलापुर नगरपालिकाकी मेयर रिना देवी साहलाई दोश्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित भइ अहिले एमालेमा लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मेयर कुश्वाहा र साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
केहि दिनअघि मात्रै माओवादी जिल्ला कार्य समिति रौतहटले दुवै जना मेयरलाई स्पष्टीकरण सोधेको थियो तर उनिहरुको चितबुझदो जवाफ नआएपछि पार्टी अध्यक्ष प्रचण्डले नै विज्ञप्ती निकालेर दुवै जनासँग स्पष्टीकरण सोध्न लागेका छन ।
स्पष्टीकरणमा चितबुझदो जवाफ नदिए मेयर कुश्वाहा र साहलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने माओवादी केन्द्रले तयारी गरेको छ ।