एमडि रेयाज । वीरगञ्ज । १४ बैशाख
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बैशाख १६ गते बिहान ४ बजेदेखी २२ गते राती १२ बजेसम्म निषेधाजा जारी गर्न सिफारिस गरेको छ ।
पर्सा जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै डिसिसिएमसीको मंगलवार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
संक्रमितका साथै मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा छ । २ दिनमा ६ जना संक्रमितको मृत्यु भएको छ ।
संक्रमणको दर उच्च रहेको पर्सामा कोरोना नियन्त्रण, संक्रमितको उपचार तथा व्यवस्थापन लगायतका कार्यहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा डिसिसिएमसीको बैठक केन्द्रित थियो । नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोरोना संक्रमितको उपचार गर्न÷गराउन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तत्कालका लागि २ सय शैययाको कोभिड संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।