धर्मेन्द्र कुमार साह, बैशाख २० गते रौतहट ः
गौर नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरुको अनुगमन सुरु गरेको छ । सम्भावित लकडाउनको आडमा बजारमा दैनिक खाद्यवस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको जनगुनासोपछि नगरपालिकाले अनुगमन थालेको हो । लकडाउन हुने हल्ला फैलाएर खाद्यवस्तुको मूल्य व्यापारीहरुले बृद्धि गरेको गुनासो आएपछि अनुगमन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शुभास ठाकुरले बताए । गौर नगरपालिकाका अधिकृत सरोज कुमार लाल दास, घरेलु तथा साना उधोगको कार्यालय गौरका प्रमुख जयकान्त झा, प्रमोद बर्मा, जिल्ला प्रहरी कार्यालय गौरका प्रतिनिधि समेतको उपस्थितिमा बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय गौरले सबै स्थानिय तहहरुलाई पत्राचार गर्दै आ–आफ्ना क्षेत्रका बजारहरुको अनुगमन गर्न आग्रह गरेको थियो ।