ओम प्रकाश यादव । बैशाख २० गते, रौतहट ।
कोरोना भाइरसको संक्रमण बढेसंगै रौतहटको मौलापुर नगरपालिकाम ज्वरोको विरामीको संख्या ह्वातै बढेको छ । कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको समयमा जिल्लाको मौलापुर नगरपालिका १ मर्यादपुरमा ज्वरो, दम र रुघा खोकीको विरामको संख्या बढदै गएको छ । मर्यादपुर गाउँमा अहिले प्राय घरघरमा ज्वरो, दम र रुघा खोकीको विरामी देखा परेको छ । केहिदिनयता यहाँका प्राय सबैजसो घरमा महामारीको रुपमा ज्वरो, दम, रुघा खोकी, टाउको दुख्ने लगाएतको समस्या देखा परेको मौलापुर नगरपालिका १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादवले बताएका छन । ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु कोरोना भाइरसको लक्ष्ण भएकोले यहाँका घरघरमा कोरोना जाँच गर्नुपर्ने अवस्था देखिएको वडा अध्यक्ष यादवले बताए । ज्वारो, खोकी लगाएत रोगबाट धमाधम गाउँबासीहरु विरामी पर्न थालेपछि कोरोनाको आशंकामा पुरै गाउँवासी नै त्रसित भएको उनले बताए । ज्वरोका कारण गाउँमा त्रासको अवस्था सृजना भएपनि जनताको स्वास्थ्य अवस्थाप्रति जनप्रतिनिधि उदासिन रहेको वडा अध्यक्ष यादवले बताए । जनप्रतिनिधिहरुले अहिले कोरोना भाइरसलाई पराजित तथा नियन्त्रण गर्न लाग्नुको सटा अन्य काममा व्यस्त रहेको तथा जनताको स्वास्थ्य समस्याप्रति कुनै ध्यान नदिएको उनले बताए । घरघरमा कोरोना चाँज गरी उपचार गर्ने तथा आम नागरिकलाई कोरोनाबाट जोगाउने तर्फ ध्यान दिन वडा अध्यक्ष यादवले निर्वाचित सबै जनप्रतिनिधिलाई आग्रह गरेका हुन । यसैविच केहि दिनयता रौतहटमा कोरोना भाइरस संक्रमण तिव्र गतिमा बढदै गएको छ । दोश्रो लहरको कोरोना संक्रमण शुरुभएदेखी रौतहटमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक सय ५५ पुगेको छ । रौतहटमा आज मात्र ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १५५ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । त्यस्तै कोरोनाबाट अहिलेसम्म एक जनाको मृत्यु भइसकेको समेत जनाइएको छ ।