रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव अति सकारात्मक सक्रियता निर्वाह गरिरहेका छन् । जिल्लाको हरेक क्षेत्रमा प्रजिअ यादवको दृष्टि र दृष्टिकोण पुग्ने गरेको छ । सञ्चारकर्मीसित पनि उत्तिकै घुलमिल गरेका प्रजिअ यादवले सञ्चारकर्मीलाई आवश्यक सबै किसिमका सूचना पनि समयमै उपलब्ध गराउने गरेका छन् । अझ यो विपद्को समयमा प्रजिअ यादवले देखाएको सार्थक सक्रियता साँच्चिकै सलामयोग्य र सम्मानयोग्य रहेको छ ।
एक कुशल प्रशासक तथा समन्वयकर्ताको भूमिकामा प्रजिअ यादव अत्यन्त सफल छन् । प्रजिअ यादवको सार्थक सक्रियताको रौतहटमा जुन किसिमको चर्चा छ, त्यसै कारणले सहयोग पनि पाएको हुनुपर्छ । अहिलेको कठिन परिस्थितिमा एकातिर सचेतना र अर्कोतिर उपचारात्मक दुवै उपाय गराउन प्रजिअ सफल भएका छन् । हुन त जिल्लामा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ तर प्रजिअ यादवको सक्रियताले संक्रमणको दर कम गर्न निकै बल पुगेको छ ।
अति सम्वेदनशील समयमा गम्भीर भएर काम गरिरहेका प्रजिअ यादवले केही दिन पहिले विकास र निर्माणसँग सम्बन्धित पक्षमा पनि निक्कै ध्यान दिएका थिए । आउँदो बाढीको समयको तयारीमा पनि ध्यान दिएका थिए । यसरी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारजस्ता अति महत्वपूर्ण काममा निरन्तर खटिरहेका एक आशलाग्दा तथा भरपर्दा प्रशासक प्रजिअ यादवका सबै सार्थक योजनाहरू फलिभूत होऊन् ।