राजेन्द्र लहान बैशाख २३ गते।
सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि आकस्मिक बाहेकको सबै सेवा बन्द भएको छ । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको सेवा पनि प्रभावित भएको छ । नयनपुर अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ भने लहानस्थित राउ स्मारक अस्पतालमा आकस्मिक र इन्डोर शाखाको सेवा केही दिनका लागि बन्द गरिएको छ ।
नयनपुर अस्पतालमा कार्यरत एक चिकित्सक र दुई स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश योन्जनका अनुसार संक्रमित स्वास्थ्यकर्मीहरूको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको छ ।
नयनपुर अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केर निर्मलीकरण गरेपछि पुनः सञ्चालनमा ल्याइने अध्यक्ष योन्जनले बताएका छन् । यता राउ स्मारक अस्पताल लहानले इमर्जेन्सी शाखा र इन्डोर शाखालाई निर्मलीकरण गर्नका लागि ती शाखाको सेवा बन्द गरिएको छ । अस्पतालमा उपचार गर्न आएका लहान नगरपालिका–३ का ४० वर्षीय पुरुष र साविक विष्णुपुरकट्टी–२ का १८ वर्षीया महिलामा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।