
काठमाडौं, ०५ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न उदाहरणहरू दिँदै सरकारको नियतमाथि प्रश्न उठाएको छ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सरकारका कामकारबाही र भ्रष्टाचारका मुद्दाहरू बारेका गतिविधिमा नियतमाथि आशंका गरेका हुन् ।
प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर ‘नेपालले भारतको सिमाना मिचेको छ’ भनी दिएको अभिव्यक्तिको शाहीले आलोचना गरे । ‘प्रधानमन्त्रीको यो कुरालाई सही भन्दै हामीले थपडी बजाउन सकेनौँ । राष्ट्रको कार्यकारी प्रमुखले नै यस्तो राष्ट्रघाती अभिव्यक्ति दिनु लज्जास्पद छ,’ शाहीले भने ।
शाहीले सरकारले गरिब जनताको स्वास्थ्य बिमा कटौती गरेको, बिजुलीमा भ्याट लगाएको र अस्पतालमा तड्पिरहेका बिरामीमाथि कर थोपरेको भन्दै आपत्ति जनाए । ‘गरिब किसानलाई अनुदान देऊ भन्दा सरकार सुन्दैन, हुकुमबासीलाई विस्थापित गर्छ तर अर्बौँ कर छली गर्नेहरूसँग डिनर खान्छ,’ शाहीले भने ।
शाहीले शैक्षिक योग्यताले मात्र इमानदारिताको ग्यारेन्टी नगर्ने बताए । उनले पूर्वअर्थमन्त्रीहरू डा.रामशरण महत, डा.प्रकाशचन्द्र महत र डा.युवराज खतिवडाको नाम लिँदै भने, ‘उहाँहरू जस्ता विज्ञहरू अर्थमन्त्री भएकै पालामा देशमा ठुलठुला भ्रष्टाचार र अनियमितताका घटना भए। समस्या ज्ञानको अभाव होइन, नैतिकताको अभाव हो।’
अहिलेका कतिपय मन्त्रीहरू विगतमा सडकमा आन्दोलन गर्दा कुटाई खाएका र हिरासत बसेका व्यक्तिहरू भए पनि सत्तामा पुगेपछि उनीहरूकै प्रवृत्ति हिजोका शासकहरूको जस्तै भएको टिप्पणी गरे ।
‘हिजो आक्रमण सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट चरित्र हत्या गरिन्छ। हिजो र आजको सरकारमा केबल अनुहार र चुनाव चिन्ह मात्र फरक देखियो, व्यवहार उस्तै छ,’ शाहीले भने ।
शाहीले राप्रपा सत्यको पक्षमा एक्लै भए पनि लडिरहने र भ्रष्टाचार विरुद्धको अभियानमा पछि नहट्ने बताए ।
