
काठमाडौं, ०५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
भोलि ६ गते साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय भएको छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुबाट शुभकामनासहित पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने जनाइएको छ ।
उद्घाटन सत्रलाई भव्य बनाउन चितवनको चिनारी झल्कने विभिन्न जातीय संस्कृति झल्कने नाँचहरू पनि प्रदर्शन गर्ने तयारी छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने रास्वपाको तयारी छ ।
भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्याङ्गर’ तयार गरिएको छ । तीनवटा सेक्सनमा तयार गरिएको ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्छ ।
काठमाडौंको मिडिया स्पेस सोलुसनले बनाउँदै गरेको संरचनामा मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लम्बाइको रहनेछ । बाँकी ३० मिटर लम्बाइ र २० मिटर चौडाइ भएका दुईवटा सहायक खण्ड रहनेछन् ।
यिनको उचाइ बीचको भागमा २४ फिट र छेउको उचाइ १६ फिट रहनेछ । यस भित्र १० हजार जति अटाउन सक्ने जनाइएको छ ।
रास्वपाले उद्घाटन सत्रका लागि स्वतस्फुत: रुपमा आफैं व्यवस्थापन गरेर सहभागी हुन आह्वान गरेको छ । चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र गेस्ट हाउस चौरमा भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।
असार ७ गते दिउँसो २ बजे उद्घाटन समारोह सुरु गर्ने तयारी छ । रास्वपाको महाधिवेशन उद्घाटन पूर्वी चितवनको टाँडीमा गर्ने भनिए पनि अन्तिम समयमा आएर भरतपुर सारिएको थियो ।
होटल स्टारमा उद्घाटन सत्र समारोहका लागि बाँसको पण्डाल तयार हुँदै गर्दा महाविधेशन उद्घाटनस्थल परिवर्तन गरिएको हो । पण्डाल लगायतका संरचना बनाउन ७ लाख जति खर्च भइसकेको जनाइएको छ ।
एक सयजना निर्वाचनबाट छानिने, इभोटिङ गरिने
महाविधेशनमा १ सय प्रत्यक्ष निर्वाचनबाट छानिने छन् भने बाँकी पार्टीले मनोनित गर्ने जनाइएको छ । मतदानका लागि इलोक्ट्रोनिक भोटिङ मेशिन(इभीएम) को सम्झौता भइसकेको छ । महाधिवेशनमा सहभागी हुन कतिपय नेताहरु चितवन आइसकेका छन् । धेरै जसो नेता कार्यकर्ता भोलि साँझसम्म चितवन आउने छन् । ७ गते दिउँसो २ बजे मात्रै उद्घाटन सत्र हुने भएकोले नजिकका जिल्लाहरुबाट ७ गते मात्रै आउने भनेर कतिपयले जानकारी गराएको रास्वपाका नेताहरूले जनाएका छन् ।
बन्द सत्र गर्न संघले दियो हलको अनुमति
हालसम्म कुनै पनि राजनीतिक प्रकृतिका कार्यक्रम गर्न नदिएको चितवन उद्योग संघले प्रर्दशनी केन्द्रका हल रास्वपाको बन्दसत्र गर्नका लागि अनुमति प्रदान गरेको छ ।
सरकारबाट हल सञ्चालनको अनुमति लिँदा नै औद्योगिक र विपद्जन्य कामबाहेक अन्य प्रयोजनका लागि नदिन सम्झौता भएकोले सुरुमा हल दिन संघले आनाकानी गरेको थियो ।
तर, पछि उद्योग मन्त्रालयले बन्दसत्र गर्नका लागि हल रास्वपालाई ३ दिनका लागि दिन अनुरोधसहितको पत्र पठाए पछि हल दिन संघ तयार भएको हो ।
उद्योग मन्त्रालयको पत्र र गृह मन्त्रालयबाट समेत जिल्लास्थित सुरक्षा समितिलाई निर्देशन दिएपछि समितिले औपचारिक पत्र पठाएर बन्दसत्रका लागि हल उपलब्ध गराउन भनिएको थियो ।
उच्च पदस्थ व्यक्तिहरू उपस्थित र सुरक्षा व्यवस्थाका कारणले सभाहल प्रयोग गर्न दिनु भनेर पत्र पठाएपछि सभाहल दिने निर्णय गरिएको संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिए ।
प्रर्दशनी मैदानमा संघले निर्माण गरेका तीन वटा ठूलठूला हलहरु छन् । बन्दसत्र गर्न हल स्वीकृत पाएपछि भित्र आन्तरिक तयारी तीब्र पारिएको छ । हलमा कुर्सीदेखि, भोटिङ हुने स्थल, खाना खाजाको व्यवस्थापन, शौचालय तथा बत्ति, एसीहरूको अवस्थाका बारेमा तयारी गरिएको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।
बन्दसत्र स्थलमा केही चितवनका चिनारी झल्काउने उत्पादनहरुका स्टलहरु राखिने खनालले जानकारी दिए ।
प्रतिनिधिको होटलको खर्च आफ्नै, खाना खाजाको जिम्मा पार्टी
रास्वपाको महाधिवेशनमा आउने प्रतिनिधिले होटलमा बसेको खर्च आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधि बस्नका लागि भरतपुर, नारायणगढ क्षेत्रका होटलहरू प्रतिनिधि तथा जिल्लाले गरेको अनुरोधका आधारमा बुक गरिएका छन् ।
रास्वपा चितवनका सभापति खनालले प्रतिनिधिहरूलाई राख्ने होटल, होटलको संख्या, कोठा, दररेटसहितका विवरण हरेक जिल्ला तथा प्रदेश समितिहरूलाई पठाइएको बताए ।
‘प्रतिनिधिहरू आफैं वा जिल्ला समितिहरुले होटलमा नै फोन गरेर वा कसैमार्फत बुक गर्नुहुन्छ, त्यसमा आवश्यक परे हामीले सहजीकरण गरेका छौं’ सभापति खनालले भने, ‘भरतपुरमा मात्रै सबै जना प्रतिनिधि नअटाउने भएकोले सौराहा, टाँडी, मेघौली, पटिहानी क्षेत्रका होटलहरूमा समेत प्रतिनिधिहरू बस्नुहुन्छ ।’ प्रतिनिधि ३ हजार र अन्य सहभागी गरेर करिब ४ हजार जनाका लागि २ हजार कोठा आवश्यक पर्ने सभापति खनालले बताए ।
त्यसका लागि १५० देखि २ सयसम्म होटलहरूलाई सम्पर्क गरिएको उनले जानकारी दिए । भरतपुरको नजिकै रहेको गैंडाकोटका कतिपय होटलमा पनि प्रतिनिधिहरू बस्नेछन् ।
रास्वपाको महाविधेशनमा बस्न आउने प्रतिनिधि तथा अन्य पाहुनाहरूलाई चितवनका होटलहरूले छुट सुविधासमेत उपलब्ध गराएका छन् ।
महाधिवेशनमा सहभागी हुने हरेक प्रतिनिधिसँग ५ हजार रुपैयाँ शूल्क उठाउने तयारी रास्वपाको छ । लेबी नबुझाउने प्रतिनिधि महाधिवेशनमा सहभागी हुन नदिने उक्त पार्टीले जनाएको छ ।
प्रतिनिधीहरूलाई बिहानको ब्रेक फास्ट, खाना, दिउँसोको खाजा र बेलुकाको खानाको व्यवस्थापन पार्टीले गर्ने चितवन जिल्ला सभापति खनालले जानकारी दिए । प्रतिनिधिहरूलाई होटलसम्म जान र आउनका लागि सटल बसको व्यवस्थापन हुने उनले जानकारी दिए ।
