‘बिचौलिया र कार्यकर्तामुखी बजेट स्वीकार्य छैन’ : नेकपा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (५७ मिनेट अघि)
  • २१ पटक पढिएको
‘बिचौलिया र कार्यकर्तामुखी बजेट स्वीकार्य छैन’ : नेकपा

धनगढी, ०५ असार। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८३/८४ को बजेट फेल गराउने चेतावनी दिएको छ । प्रदेश सरकारले ल्याएको बेतिथिपूर्ण बजेट सबै तागत लगाएर फेल गर्ने चेतावनी नेकपाले दिएको हो ।

शुक्रबार प्रदेशसभामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा संसदीय दलका नेता खगराज भट्टले सबै तागत लगाएर बजेट फेल गर्ने बताउँदै त्यसमा सहयोग गर्न सबैलाई अपिल गरेका छन् । प्रतिपक्षी दलसँग गरेका प्रतिबद्धता, आफैंले बनाएका मापदण्डविपरीत विगत जस्तै योजना खरिद–बिक्री गर्दै बजेट ल्याएकाले सभाबाट पारित हुन नदिने भट्टले बताए ।

उनले मन्त्रालय र सरकारका तल्ला निकायमार्फत हाल्नुपर्ने योजना मुख्यमन्त्री कार्यालय र होटल तथा गोप्य ठाउँहरूमा टाइप गरिएको आरोपसमेत लगाएका छन् ।

‘मन्त्रालय र सम्बन्धित अड्डाबाट जानुुपर्ने योजना मुख्यमन्त्रीको कार्यालय र कतिपय होटलमा सुटकेस बुझेर हाल्ने काम भएका कुरा आएका छन्,’ भट्टले भने, ‘त्यसकारण यो बजेटलाई असफल पार्न प्रदेशसभामा सहभागी सबै सांसदहरूलाई आग्रह गर्छौं । हाम्रो सम्पूर्ण सामर्थ्य लगाएर बजेट फेल गर्नेछौं ।’

भट्टले सुशासन पक्षधर, विकास पक्षधर र वैज्ञानिक विकासप्रति समर्पित भएर सत्तारुढ दलका सांसदलाई आफ्नो कदमलाई साथ दिन अपिलसमेत गरेका छन् । केही पनि नपाएको र नगरेको व्यक्ति भ्रष्टाचारीको नाइके बन्नुपर्ने विडम्बनालाई चिर्नुपर्ने उनको भनाइ थियो । सिंगो प्रदेशसभा बेथितिको विपक्षमा रहेको सन्देश सांसदहरूले दिनुुपर्ने उनी बताउँछन् ।

पत्रकार सम्मेलनमा नेकपाले बजेट संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाविपरीत, दिगो विकास, सरकारको आफ्नै सिद्धान्त, प्राथमिकता र संसदीय सर्वोच्चता एवं नागरिक सर्वोच्चताविपरीत भएको दाबी गरेको छ । बजेट जनताको आशा–अपेक्षा सम्बोधन गर्ने नभई दलाल, बिचौलिया र कार्यकर्ता पोस्ने किसिमले ल्याइएकोले अस्वीकार गर्ने नेकपाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस