उपेन्द्र गोले । रौतहट २३ बैशाख ।
रौतहटमा कोरोना संक्रमणको मौका छोपी कालो बजारी हुन थालेपछि बजार अनुगमन भएको छ । उपभेक्ताहरुले बजारमा कालो बजारी भएको गुनासो गरेपछि रौतहटका बजारहरुमा अनुगमन शुरु भएको छ । सोही क्रममा बिहीवार रौतहटको चन्द्रपुर नगर क्षेत्रका बजार अनुगमन गरिएको छ । विहिबार चन्द्रपुर नगरपलिकाकी उप–मेयर रामरती चौधरी, चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साह, उपभोक्ता हित संरक्षण मञ्चका रौतहट अध्यक्ष टिका घिमिरे, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी, चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल कुमार साह, इलाका प्रहरी र प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधिद्धारा बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा चन्द्रपुरको बालचनपुर तथा डुमरियाका विभिन्न पसलबाट म्याद गुज्रिएका र अखाद्य बस्तु बरामद भएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरीले बताउनु भयो । बजार अनुगमन टोलि देखेर कयौ स्थानका पसलेहरुले सटर झारेर फरार भएको चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साहले बताउनु भयो । अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका समाग्री तथा अखाद्य बस्तु अनुगमन गर्ने कार्य समापन भएपछि नष्ट गर्ने चन्द्रपुर नगरपालिकाक उप प्रमुख रामरती चौधरीले बताउनु भयो ।