दिपेन्द्र जयसवाल,बारा,बैशाख २६
बाराको निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कोरोना कहरमा आगामी जेठ र असार महिनामा बुझाउने महसुलमा छुट दिने भएको छ । संस्थाको आज बसेको संस्थाको ४७ औं बैठकले निषेधाज्ञा अवधिमा महसुल बुझाउन कार्यालयमा सेवाग्राही पुग्न नसक्ने भएकाले दुई महिनाको जरिवाना नलिने निर्णय गरेको हो । सेवाग्राहीको भिडभाड हुन नदिन जेठ १ गतेबाट महसुल काउन्टर बन्द गर्ने समेत निर्णय गरेको छ । काउन्टर बन्द भएपनि सेवाग्राहीले मोवाईलबाटै ईसेवा, आइएमीपे र मोवाईल बैंकिङ्गबाट महसुल बुझाउन सक्ने अध्यक्ष सुदर्शनप्रसाद कोईरालाले जानकारी दिएका छन् । जेठ महिनामा मिटर रिडिङ्ग समेत नगर्ने भएको छ । संस्थाले सेवा प्रवाहलाई निषेधाज्ञा अवधिमा समेत नियमित गर्न घरबाटै सेवा दिने व्यवस्था मिलाउने भएको छ । कार्यालयका व्यवस्थापकले घरबाटै समन्वय गरेर सेवा प्रवाह गर्ने भएको छ । अनिवार्य कार्यक्षेत्रमा खटिने प्राविधिक कर्मचारीलाई स्वास्थ्य सर्तकतासहित खटाउने र २० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको संस्थाका सचिव महेश्वर अधिकारीले जानकारी दिनु भयो । कार्यक्षेत्रमा खटिदा कोरोना संक्रमण भए रु. एक लाखसम्मको उपचार खर्च संस्थाले व्यहोर्ने समेत उनले जानकारी दिएका छन् ।