दिपेन्द्र जयसवाल,बारा बैशाख ३१
कोरोना भाइरसको दोस्रो लहरमा संक्रमितको संख्या बढ्दै गएपछि बाराको निजगढमा लकडाउनमा थप कडाइ गरिने भएको छ ।निजगढ नगर क्षेत्रमा आज बैशाख ३१ गते मध्यरातबाट एक हप्ता औषधि पसल र दुग्ध संकलन, केरा ओसार पसार बाहेकका सम्पूर्ण पसल, उद्योग व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । निजगढ नगरपालिकाको विपत्त व्यवस्थापन समितिको बैठकले नगरभित्र चिया पसलदेखि होटल, रेष्टुरेन्ट, डिपो, डिपाटमेन्ट स्टोर लगायतका व्यवसाय एक हप्ताको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । सर्वसाधारणको हिड्डुललाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको समितिले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, बैंक तथा वित्तिय संस्था र सहकारीका कर्मचारी, शिक्षक, विद्युत, खानेपानी, सार्वजनिक सेवाका कर्मचारीदेखी विपत्त व्यवस्थापनका वडास्तरिय समितिका सदस्यलाई रोक नलगाउने भएको छ । नगरपालिकाले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेसंगै सुरक्षा निकायले तयारी सुरु गरेको छ ।