नारायणी अस्पताल प्रकरणमा चिकित्सक संघको चेतावनी, दोषीमाथि कारबाही नभए आन्दोलन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (५८ मिनेट अघि)
  • ३१ पटक पढिएको
नारायणी अस्पताल प्रकरणमा चिकित्सक संघको चेतावनी, दोषीमाथि कारबाही नभए आन्दोलन

वीरगञ्ज, १० साउन। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि उपचारका क्रममा भएको सांघातिक आक्रमण, अस्पतालमा भएको तोडफोड तथा गुण्डागर्दीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा सेवामा खटिएका चिकित्सकहरूको निलम्बन फिर्ता लिन सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी प्रेस विज्ञप्तिमा साउन ९ गते बिहान मुटुसम्बन्धी गम्भीर समस्याका एक बिरामीलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी आकस्मिक कक्षका इन्चार्जसहित चिकित्सकहरूको टोलीले तत्काल आवश्यक सम्पूर्ण उपचार उपलब्ध गराएको उल्लेख गरिएको छ। उपचारका क्रममा बिरामीको दुःखद निधन भएपछि घटनाको वास्तविकता नबुझी चिकित्सकमाथि कपोलकल्पित आरोप लगाउँदै अस्पतालको आकस्मिक कक्षमा तोडफोड तथा आतंक सिर्जना गरिएको संघको भनाइ छ।

विज्ञप्तिमा विवाद समाधानका लागि छलफलमा जाँदै गरेका मेडिकल अफिसर डा. प्रमोद राममाथि करिब ४०–५० जनाको अनियन्त्रित समूहले मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेको उल्लेख गर्दै उक्त घटनाको घोर भर्त्सना गरिएको छ।

नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा हुने यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्नुका साथै स्वास्थ्य सेवा प्रवाहसमेत प्रभावित हुने जनाएको छ।

संघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)” बमोजिम कडा कारबाही गर्न र स्वास्थ्यकर्मीलाई सुरक्षित तथा भयरहित वातावरणमा सेवा प्रवाह गर्ने सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेको छ।

त्यसैगरी, घटनापछि अस्पताल प्रशासनले आक्रमणमा परेका चिकित्सकसहित आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गरेकोप्रति पनि संघले गम्भीर आपत्ति जनाएको छ। सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता गरी सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने संघको माग छ।

नेपाल चिकित्सक संघले दोषीमाथि तत्काल कानुनी कारबाही नगरिए आन्दोलनका कार्यक्रमसहित थप कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस