दिपेन्द्र जयसवाल,बारा जेठ २
डिभिजन वन कार्यालय बाराले यस वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको छ । वन कार्यालयले आफ्नो कार्यालय मातहतको खाली परिसरमा दुई लाख पचास हजार बिरुवा उत्पादन गर्ने सक्ने उच्च स्तरको टनेल निर्माण र नर्सरी स्थापना गरी मसला, टिक, सजीवन, महोगनी (मलेशियन साल), शिरिष, ईपिल, जामुन, सिसौ, सिमललगायत बिरुवा उत्पादन गरेको छ । यसरी उत्पादित बिरुवा सरकारी वन क्षेत्र, निजी वन क्षेत्र, सामुदायिक वन क्षेत्र, साझेदारी वन क्षेत्रमा समेत रोप्न सकिनेगरी उत्पादन गर्दै आएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिएका छन् । यहाँ उत्पादन हुने बिरुवा नि ःशुल्क वितरण गर्ने जसका लागि आवश्यक प्रक्रिया भने पूरा गर्नुपर्ने उनले जानकारी गराएका छन् । निजी वनका लागि जग्गाधनीले बिरुवा उपलब्ध गराउन आवश्यक कागजातसहितको आवेदन वन कार्यालयमा उपलब्ध गराएसँगै बिरुवा रोप्ने जग्गा, जमीनको वन प्राविधिकको टोलीले स्थलगत अनुगमन एवं निरीक्षण गर्ने र सो प्राविधिक टोलीले दिएको प्रतिवेदन अनुसार नर्सरीमा उत्पादन गरिएका बिरुवा वितरण साथै आवश्यक परामर्शसमेत प्रदान गर्दै आइरहेको डिवका प्रमुख अहमदले भने । यसरी निजी जमीनमा बिरुवा रोपण गर्दा राष्ट्रिय वन, सामुदायिक, साझेदारी वनमा पर्ने वन पैदावरको चाप न्यूनिकरण हुने र जग्गाधनीले अन्य बाली भन्दा राम्रो आय गर्ने उनले बताउनु भयो । हामीले जिल्लाको उत्तरीभेगका साथै दक्षिणीभेगमा पनि निजी वन लगाउन प्रोत्साहन दिंदै आएका छौं । त्यसले केही वर्षभित्रै घाँस, दाउरा, सोत्तरसँगै वन पैदावर उपयोग गर्न सकियोस् उनले भने । वन क्षेत्र बाक्लिंदै जाँदा वर्षायाममा भारी वर्षा हुने र पानीको सतह माथि रहिरहने जसले गर्दा खेतीबाली लगाउन पानीको स्रोत कायमै रहोस् भन्ने पनि उद्देश्य रहेको उनले बताउनु भयो । गत राष्ट्रिय वृक्षारोपण वर्ष अन्तर्गत यस वर्ष देशभर ५ करोड बोट बिरुवा रोपण गर्ने लक्ष्य सरकारले लिएसँगै बारामा लगभग ३ सय ५० हेक्टर क्षेत्रफलमा ६ लाख वृक्षारोपण भएको थियो । सङ्घ र प्रदेशको निर्देशन अनुसार गत वर्ष १० लाख बिरुवा उत्पादन गर्ने लक्ष्यसहित डिभिजन वन बारा लक्ष्य प्राप्तिका लागि अघि बढेको हो । यसमा विभिन्न प्रजातिका ६ लाख र ३ हजार ५ सय फलफूलका बिरुवासमेत रहेको छन् । डिभिजन वन कार्यालय बारा मातहतका नर्सरी सिम्रौनगढ, बरियारपुर, कलैया, फेटा, त्रिवेणी, डुमरवाना, तामागढीलगायत स्थानमा रहेका छन् ।