आरके श्रीवास्तव । रौतहट । जेठ ०६ गते
रौतहटको कटहरियामा नाला निर्माणको क्रममा वाल भत्किदा ४ जना कामदार घाइते भएका छन । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ५ मा नाला निर्माण गर्ने क्रममा नाला निर्माण स्थलसँगै रहेको धर्मशालाको कम्पाउण्ड वाल भत्किएको हो । नाला निर्माणको काम गरिरहेको समयमा एक्कासी बुधबार साझ वाल भत्किएको थियो । शहरी सतह ढल परियोजना अन्तर्गत एबिडी कम्पनिले सो नाला निर्माण कार्य गरिरहेको छ । निर्माण कम्पनिले कामदारहरुको सुरक्षाका लागी सेफ्टीका हेलमेट जस्ता सामग्रीहरु सहित काममा खटाउनु पर्नेमा एबिडी कम्पनि तथा स्थानिय जनप्रतिनिधि र इन्जिनियर समेतको लापरवाहीले सेफ्टीका सामग्री कामदारले प्रयोग नगर्दा ४ कामदारहरु घाइते भएको स्थानियले बताएका छन । आफुहरुले कामदारहरुको सुरक्षाका लागी हेल्मेट तथा बिमा समेत गरेको इन्जिनियर जितेन्द्र प्रसाद यादवले दावी गर्नु भएको छ । स्थानियले भने नाला निर्माणमा काम गरेका कुनै पनि कामदारहरुले सुरक्षाका सामग्री प्रयोग नगरेको बताएका छन । धर्मशालामा निर्माण गरिएको वालको जमिनमुनिको भाग २ फिट रहेको र नाला निर्माण गर्ने क्रममा सो वालको सतहभन्दा ३ फिट मुनिसम्म खनेकाले वाल भत्किएको स्थानियको बताएका छन । तर इन्जिनियर यादवले बर्षाको समय भएकाले माटो गलेकाले वाल भत्किएको प्रतिक्रिया दिनु भएको छ । वाल भत्किदा देवाही गोनाही नगरपालिकाको वडा नम्बर ५ का अनिल कुमार यादव , फतुवा विजयपुर—७ का मनोज कुमार यादव , बारा सिमौनगढ—१ का अमलेस प्रसाद यादव र सर्लाही धनकौलल—७ का राजीव यादव घाइते हुनु भएको छ । घाइतेहरुको स्थानिय जीवन ज्योती हस्पिटल कटहरियामा उपचार भइरहेको र मनोज कुमार यादवको अबस्था गम्भिर रहेकाले थप उपचारका लागी विरगंज रेफर गरिएको अस्पतालले जनाएको छ ।