अहिले विश्वमा शान्तिको सन्देश दिने मुख्य महापुरुषको नाम आउँदा गौतम बुद्धलाई नै सबैभन्दा पहिले सम्झन्छन् विश्वले । झन्डै विश्वभरि महात्मा बुद्धलाई भगवान बुद्ध भनेर पूजा गरिन्छ । आज वैशाख पूर्णिमाको दिन यसै भएर विश्वभरका बुद्ध धर्मावलम्बीहरु भगवान गौतम बुद्धको जन्मोत्सव धुमधामका साथ मनाउने गर्दछन् । विश्वका धेरै देश बौध धर्मावलम्बी छन् । कम्तीमा एक दर्जन देशको राष्ट्रिय धर्म बौद्ध रहेको छ भने चार दर्जनभन्दा बढी देशमा बौद्ध धर्मावलम्बीहरु अत्यन्त श्रद्धा र भक्तिका साथ भगवान बुद्धको जन्मोत्सव मनाउने गरेका छन् । विश्वका धेरै देशमा आजको दिन सार्वजनिक विदा हुन्छ । बुद्ध जयन्तीको अवसरमा राष्ट्रिय विदा दिने देशमध्ये एक नेपाल पनि हो ।
नेपालमा भगवान बुद्धको जन्म भएको भन्ने कुरो विश्वमा स्थापित सत्य हो । यस देशमा बौद्ध धर्मावलम्बीहरु हिन्दूपछिको दोस्रो ठूलो संख्यामा रहेका छन् । यही जन्मेका भगवान बुद्धको जन्मथलोलाई लुम्बिनी भनेर चिनिन्छ । पहिले यस देशको एउटा अञ्चल हुने गरेको लम्बिनी अहिले प्रदेश बनेको छ । सम्पूर्ण नेपालीको लुम्बिनीप्रति अत्यन्त उच्च श्रद्धा र सम्मान रहेको छ साथै विश्वभरका बौद्ध धर्मावलम्बीहरुको लागि यो ठाउँ आस्थाको सर्वोच्च शिखर हो । भगवान बुद्धले जन्म लिएको लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया तथा महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर विश्वका बौद्धमार्गीका लागि सदैव आस्था र श्रद्धाको केन्द्र रहेका छन् । स्वाभाविक रुपमा सबैले यी स्थललाई शान्तिको रुपमा लिन्छन् । जहाँ जहाँ गौतम बुद्ध पुगे ती सबै ठाउँ शान्तिस्थलका रुपमा प्रख्यात हुन पुगेका छन् । बुद्धका वाणीहरु पनि शान्तिका प्रतीक मानिन्छन् ।
महात्मा बुद्ध विश्वमा शान्तिका निर्विवाद प्रतीक हुन् । आजको दिन उहाँलाई सम्झेर आफ्नो जीवनमा पनि शान्ति ल्याउने मार्गको खोजी गर्ने प्रेरणा सबैमा मिलोस् । बुद्ध जयन्तीको सबैमा शुभकामना ।