उपेन्द्र गोले रौतहट १३ जेठ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आम नागरिकहरुलाई सचेत रहन अनुरोध गरेको छ । आज जेठ १३ गते विहिबारबाट १५ गते शनिबारसम्म रौतहट जिल्लाभर अत्याधिक बर्ष हुने सम्भावना रहेको राष्ट्रिय विपद जोखिम न्यसनिकरण तथा ब्यबस्थापन प्राधिकरणबाट सुचना प्राप्त भएको जनाउदै सचेत रहन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सुचना जारी गरि अनुरोध गर्नु भएको छ । बङ्गालको खाडीमा विकास भएको यास नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीवार विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको र यसको असर नेपालमा केही दिन पर्ने जनाएको छ । चक्रवातको प्रभावले शनिवारसम्म केही ठाउँमा ठूलो पानी तथा हिमाली क्षेत्रमा हावाहुरीसहित हिमपात हुने सम्भावना रहेकोले सचेत रहन विभागले आग्रह गरेको छ । यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको हो । रौतहटका आम नागरिकहरुलाई बाढी र डुवान क्षेत्रमा नजान , नदि र खोलाहरुमा माछा मार्ने कार्य नगर्न , बागमति , लालबकैया नदि तथा अन्य खोला किनारमा नजान , कुनै विपदको घटना भएमा तत्काल आपतकालिन सञ्चालन केन्द्रको फोन नम्बर ०५५५४०४२४ या प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको फोन ९८५५०३७७७७ मा सम्पर्क गरि जानकारी गराउन समेत जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।