गणेश सिरहा,जेठ १७ गते ।
सिरहाको गोलबजार नगरपालीकाले निर्माणको गरेको २५ बेडको अस्थाई कोभिड अस्पताल आइतबार देखि सुचारु भएको छ । नगरपालीकाको एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थाई कोभिड’ अस्तालको रुपमा सञ्चालनमा ल्याएको हो । नगरपालीका प्रमुख देवनाथ साहले उद्घाटन गर्दै मेरा युवा सहकर्मीहरुको जोडबलका कारण आज अस्पताल सञ्चालन सम्भव भएको बताए । उनले भने, ‘नगरका सवै प्रतिनिधीहरु म भन्दा कान्छो उमेरका हुनुहुन्छ, उहाँहरुको जनताप्रति उत्तरदायीत्वबोध र युवाजोसले मलाईमपनि तान्दै–धकेल्दै यहाँसम्म ल्याईपुर्याउनु भयो र आज अस्पताल सञ्चालनमा आउन सक्यो ।’ शिलालेख उघारेर उद्घाटन गर्दै नगरप्रमुख साहले अस्पताल सञ्चालनबाट स्थानीय जनताले राहत पाउने बताए । उनले अस्पताललाई आवश्यकता अनुसार सुविधासम्पन्न बनाउँदै लैजाने प्रतिवद्धता जनाए । सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दानगर्नुहुने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी ललितबहादुर थापालाई धन्यवाद ज्ञापन गरेका थिए । समाजसेवी थापाले ट्रमा सेन्टर निर्माणका लागि करिव ४ करोड मूल्य बरावरको एक विगहा जमिन निःशुल्क दान गरेका हुन् । जिल्लामा पछिल्लो पटक कोभिड १९ सङ्क्रमणको दरमा निरन्तर कमी आएपनि महामारी नियन्त्रणमा अस्पताल सञ्चालनबाट राहत पुग्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए । उनले जिल्लामा सङ्क्रमणदर घटेको हो की परीक्षण हुन नसकेको हो भन्ने अझै एकीन हुन नसकेको बताए । उनलेभने, ‘पछिल्ला दिनहरुमा कोभिड १९ सङ्क्रमण दर कम देखिएको छ । तर, यो कमि हुँदै आएको हो की परीक्षण हुननसकेको भन्ने खोजविन गर्र्नु जरुरी छ ।’ सोही क्रममा प्रमुख जिल्ला अधिकारी कणेलले नगरपालीकालाई प्रत्यक वडामा रहेका स्वास्थ्यसंस्थाहरुमार्फत सङ्क्रमणका लक्षण देखिएकाहरुको पहिचान गरी उनीहरुलाई परीक्षणको दायरामा ल्याउन पनि सुझाएका थिए । उनले कोरोना रोकथामको लाग हामीले हातधुने, माक्स लगाउने लगाएतका बानिबेहोरामा सुधार ल्याएपनि अझै जनचेतना फैलाउनुपर्ने अवस्था रहेको बताए । सोही क्रममा गोलबजार नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले महामारीको समयमा अस्पताल निर्माण महत्वपूर्ण काम भएको बताए । उनले ट्रमा सेन्टरको रुपमा निर्माण गरिएको भएपनि यो अस्पतालले महामारिको समयमा प्रभावकारी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको जनाए । उनले भविष्यमा यसलाई व्यस्थित र स्तरीय ट्रमा सेन्टरकै रुपमा विकसित गरीने पनि बताए । प्रमुख प्रशासकिय अधिकृत केसीले नगरक्षेत्रका होम आईशोलेशनमा वस्न सम्भव भएका सङ्क्रमितहरुलाई राख्नेगरी गोलबजार ३ मा रहेको सरस्वति माध्यमिक विद्यालयमा ६५ बेडको आईसोलेशन सेन्टर सञ्चालन गरेको पनि जानकारी दिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुअ रेशम कुमारी थापा, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शेर गण चोहर्वाका प्रमुख लगाएतका उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन नगर प्रवक्ता उमेश बरालले गरेका थिए । कोभिड –१९ लाई नै लक्षित गरी सञ्चालन गरिएकाले यसले अहिले कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पतालका डा. रामकुमार साहले जानकारी दिए । उनले अक्सिजन आवश्यक भएका, अत्यकिध डराएका तथा चिकित्कसकै निगरानीमा राख्नुर्ने अवस्थाका विरामीको उपचारको साथै काउन्सिलिङ गर्ने बताए ।