नेपालको राजनीतिमा मात्र नभएर इतिहासमा २०५८ जेठ १९ गते निकै दुखदायी भएर अंकित रहेको छ । त्यस दिन राति तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित अन्य कैयौको हत्या भएको थियो । सोही कान्डमा गम्भीर घाइते भएका युवराज दीवेन्द्रको दुई दिनपछि मृत्यु भएको थियो । त्यस हत्याकान्डपछि देशले एक इमानदार राजा गुमाएको अनुभूति गरेको थियो । सम्पूर्ण देश नै शोकमा डुबेको थियो । आज त्यस दुर्घटनाको दुई दशक पूरा हुँदैछ । वीरेन्द्र निकै लोकप्रिय थिए । सबै दल तथा जनताको पनि उनीप्रति विश्वास थियो । अगाध श्रद्धा गर्दथे वीरेन्द्र र उनको परिवारलाई । वीरेन्द्रको वंशनाश नै भएपछि सर्वसाधारण विक्षिप्त बनेका थिए । उदार प्रकृतिका राजा वीरेन्द्रलाई नजिकबाट चिन्नेहरुदेखि उनलाई बुझ्नेहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । अहिलेसम्म राजा वीरेन्द्रप्रति उतिकै श्रद्धा र सम्मान छ जनमानसमा । अझै पनि उनको परिवारको तस्वीरलाई धेरै नेपालीले आफ्नो घरमा सजाएर सम्मानका साथ राखेका छन् । समय निकै कठोर हुन्छ । जस्तोसुकै पीडालाई समयले मलम लगाउने रहेछ । वीरेन्द्र वंशनाशको यस बीस वर्षको समयमा अन्य घटना भएको भए धेरैले बिर्सिने थिए तर वीरेन्द्र वंशनाशको घटनालाई कुनै पनि नेपालीले बिर्सन सकेका छैनन् । समयको लामो अन्तरालले पनि सर्वसाधारणको मनमा लागेको घाउमा मलम लगाउन सकेको छैन । उनलाई सम्झने, श्रद्धा र सम्मान गर्ने तथा श्रद्धाञ्जली दिने दिनको रुपमा आजको दिनलाई धेरैभन्दा धेरै नेपालीले लिने गरेका छन् । जन जनको मन मनमा बस्न सफल एक निर्विवाद राजनेता राजा वीरेन्द्रको छवि बनेको छ । अझै पनि कौतूहलको विषयको बनेको दरबार हत्याकाण्ड जसले राजा वीरेन्द्रको वंशनाश गरायो, कौतूहलको विषय नै रहेको छ । आज दुई दशक पूरा भएको दिन त्यस दुर्घटनामा मृत्युवरण गरेका सबैप्रति ससम्मान श्रद्धाका पुष्प अर्पण गर्दछौँ ।