ओम प्रकाश यादव जेठ २४ गते, रौतहट ।
रौतहटमा जारी निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । जिल्लाको गरुडा नगरपालिका २ गेडहीगुठ्ठीमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा एक डिएसपी सहित ७ जना प्रहरी घाइते भएका छन । गेडहिगुठ्ठी टोलमा राति ८ बजेको समयमा निषेधाज्ञाको अवज्ञा गर्दै ठुलो भिडभाडका साथ चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । स्थानीय जयलाल सहनीको १९ वर्षिय छोरा सुजित कुमार सहनीको विवाहमा निषेधाज्ञा उल्लंघन गरी अन्दाजी ५ सयको संख्यामा मानिस जम्मा भइ डिजे बाजा बजिरहेको भनी सुचना प्राप्त हुनसाथ तत्काल इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट खटि गएको प्रहरी टोलीमाथी स्थानीयहरु ढुंगामुढा प्रहार गरेको थियो । अनावश्यक भिडभाड नगरी थोरै मानिसहरु सहभागी भइ डिजे बाजा नबजाई विवाह समारोह गर्न अनुरोध गर्दा स्थानीयहरुले प्रहरीमाथी ढुंगामुढा प्रहार गर्न थालेपछि दुबै पक्षबीच झडप भएको थियो । झडपमा स्थानीयहरुले प्रहार गरेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी द्धारिका प्रसाद घिमिरे घाइते भएका छन । स्थानीयहरुले प्रहरीलाई घेरा हाली ढुंगामुढा प्रहार गर्नुका साथै कुटपिट समेत गर्दा डिएसपी घिमिरे सहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते डिएसपी घिमिरेको छाती, टाउको लगाएतको भागमा चोट लागेको छ भने बाँकी प्रहरी सामान्य घाईते भएको जनाइएको छ ।घाइते डिएसपी घिमिरेलाई स्थानीय ग्राण्डी अस्पताल गरुडामा उपचार पश्चात थप उपचारका लागि नेपाल प्रहरी हस्पिटल काठमाडौं लगिएको छ भने सामान्य घाइते भएका प्रहरीहरु ग्राण्डी अस्पतालमै उपचार पश्चात निको भइ डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।प्रहरीमाथी आक्रमण गर्ने तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा गेडहीगुठ्ठीकै जयलाल सहनीको ३३ वर्षिय छोरा दिलीप सहनी, सोही स्थानका सुनिल कुमार सहनी र कटहरिया नगरपालिका ५ फतेपुरका ३७ वर्षिय राधा साह रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि व्यापक रुपमा खोजतलास भइरहेको रौतहटका प्रहरी उपरीक्षक शिद्धि विक्रम साहले जानकारी दिएका छन । पक्राउ परेका तिनै जनालाई आज जिल्ला अदालत गौरबाट ८ दिनको म्याद लिएर घटना बारे थप अनुसन्धान भइरहेको एसपी साहले बताएका हुन ।