राजेन्द्र हमतो लहान जेठ २७ गते ।
सिराहाका निवर्तमान सांसद एवं जसपाका नेता राजकिशोर यादव विहीबार दोस्रो चरणमा मन्त्रि नियुक्त भएपछि सिरहामा दीपावाली मनाएका छन् । उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदको शपथ लिएलगत्तै उनका समर्थकहरुले सिरहाका विभिन्न ठाउँमा दिप प्रज्वलन गरी खुशियाली मनाएका हुन् ।सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित मन्त्री यादव मन्त्री भएपछि औद्योगिक क्षेत्र गतिशिल हुने विश्वास उनको समर्थकमा छ । यादवलाई उद्योग मन्त्रालय जस्तो प्रभावशाली मन्त्रालयको दिएकोमा समर्थकहरुले सरकारलाई धन्यवादसमेत दिएका छन् । २०३० साल साउन १८ गते जन्मेका मन्त्री यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । श्रीमती सरिताकुमारी यादव पूर्वसभासद हुन् । इन्जिनियरिङ पढेका यादव २०६० सालदेखि मधेसी जनअधिकार फोरममा आबद्ध भई सक्रिय राजनीतिमा आएका हुन् । उपेन्द्य्र यादवको पार्टीबाट अलग भएपछि २०६७ सालमा फोरम गणतान्त्रिक निर्माण गरेर यादव अध्यक्ष बनेका थिए । उनको पार्टी राजपामा समाहित भयो र पछि राजपा र समाजवादी मिलेर जसपा बन्यो । २०७२ वैशाखमा मधेस केन्द्रित दलहरू एकीकृत हुँदा राजपामा उनी अध्यक्ष मण्डलको सदस्य थिए । संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सिरहाबाट यादव निर्वाचित भएका थिए । २०७४ को चुनावमा उनी सिरहा ४ बाट निर्वाचित भए ।२०६८ सालमा यादव सञ्चारमन्त्री समेत रहिसकेका सकेका छन् ।त्यसबेला उनले सरकारको प्रवक्ताको जिम्मेवारी पनि निभाएका थिए ।