ओम प्रकाश यादव जेठ २९ गते, रौतहट ।
सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा लागु गरेको छ तर निषेज्ञाधाका कारण रोजगारी गुमेपछि रौतहटमा यतिखेर चोरको आतंक फैलिएको छ ।
रौतहटको विभिन्न क्षेत्रमा यतिखेर चोरीको घटनाहरु बढेका छन । पछिलो समय जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुर र सिंगारमन धर्मपुरमा चोरी, डकैती तथा लुटपाटको घटनामा वृद्धि भएको छ । दुवै गाउँमा चोरहरुले आतंक मच्चाएका छन । चोरहरुले नगद देखी लिएर गरगहना र लुगाकपडा समेत चोरेर लग्ने गरेका छन । माधोपुर र सिंगारमन धर्मपुरमा गरी एकैरातमा ९ जनाको घरमा लाखौ मुल्य बराबरको धनमाल चोरी भएको छ । माधोपुरको उत्तरवारी टोलमा चोरको बिगिबिगी बढेको पाइएको छ । माधोपुर उत्तरवारी टोलमा विगत केहिदिनदेखी निरन्तर रुपमा चोरी भइरहेको छ । यहाँ प्रायजसो प्रत्येक राती चोरी, डकैती र लुटपाटको घटना भइरहेको छ । सो टोलमा दुई साताभित्रमा दुई दर्जनभन्दा बढी घरमा सुरुंग खनेर चोरी भएको छ । गएराति मात्र स्थानीय सोनालाल यादवको छोरा श्याम बाबु यादवको घरमा लाखौ मुल्य बराबरको धनमाल चोरी भएको छ ।
राति करिव १ बजेको समयमा घरका सदस्यहरु सुतेको अवस्थामा आएको चोरको समुहले आफना घरमा प्रवेस गरी ३० हजार नगद र ७५ हजार मुल्य बराबरको गरगहना चोरेर लगेको पिडित परिवार श्याम बाबु यादवले बताए । त्यस्तै स्थानीय फेकु साहको घरमा समेत राति नै चोरहरुले चोरीको प्रयास गरेका थिए तर साहको श्रीमतिले थाहा पाएर हो हल्ला गर्दा चोर भाग्न सफल भएको थियो । घरका सदस्य थाहा पाएपछि साहको घरमा चोरी हुनबाट जोगिएको थियो । यादव र साह उदाहरण मात्र हुन । १० दिन भित्रमा मात्र यहाँ दुई दर्जन भन्दा बढी घरमा चोरी भइसकेको छ । चोरी भएका मध्ये कसैको घरमा सुरुंग खनेर चोरी गरिएको छ भने कसैको घरमा डाकाहरु समेत प्रवेस गरी लाखौको धनमाल लुटपाट गरेको छ ।
चोरहरुले यसअघि स्थानीय चौठीराय यादव, नारायण राय, राम सेवक, राम विनोद राय, मौजेलाल दास तत्मा लगाएतको घरमा सुरुंग खनेर नै लाखौ मुल्य बराबरको धनमाल चोरेर लगेको पिडित परिवारहरुले बताएको छ । चोर र डाकाहरुले आतंकले पुरै गाउँबासी नै त्रसित भएका छन । घरमा चोरी डकैती हुने डरले स्थानीयहरु रातरातभरी जाग्रममा समेत बस्न थालेका छन ।
माधोपुरमा प्रहरी चौकी भएपनि चोरहरुको आतंक रोकिएको छैन । नागरिकको जिउ धनको रक्षाका लागि आफुहरु अहोरात्र खटिरहेको माधोपुर प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक असई रविन्द्र यादवले दावी गरेका छन । माधोपुर गाउँ ठुलो भएको र आफुसँग कम जनशक्ति भएको कारणले प्रहरीले रातरातभरी गस्ती गर्ने गरेको भएपनि चोरीको घटनामा कमी आउन नसकेको उनले बताए । चोरीको घटना न्युनिकरणका लागि आफु कुनै कसर बाँकी नराखेको र चाडै चोरको गिरोहलाई समात्न सफल हुनेमा समेत आफु विश्वस्त रहेको असई यादवले बताए । माधोपुरमा दैनिक रुपमा चोरीको घटना हुन थालेपछि इलाका प्रहरी कार्यालय गरुडाले समेत एक्सन लिएको छ । चोरी, डकैती र लुटपाटको घटना रोक्न आजदेखी गरुडाबाट केहिदिनसम्म नियमित प्रहरीको गस्ती पठाउने र निगरानी समेत बढाउने इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।