लहान असार ११ गते।
सिरहाको मिर्चैया नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि ६८ करोड ४९ लाख ११ हजार रुपैयाँको बजेट र निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मिर्चैयामा बुधबार आयोजित सातौं नगरसभामा उक्त बजेट सहितको निति तथा कार्यक्रम नगरपालिका नगरप्रमुख श्रवणकुमार यादवले प्रस्तुत गरेका हुन् । नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित निति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकतामा राखिएको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिँदै अगाडी बढ्ने निति लिएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिँदै प्रत्येक वडामा ुएक नमूना विद्यालयुको रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवणकुमार यादवले बताए । उनले नगरभित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाएर प्रविधिमैत्री शिक्षा नितिलाई सार्थकता तुल्याउन नगरपालिकाको प्रयास रहेकोे बताए । शिक्षाविना रुपान्तरण सम्भव नरहेको भन्दै शिक्षा क्षेत्र नगरपालिकाको विषेश प्राथमिकतामा रहेकोे उनको भनाइ छ । यस्तै, बेरोजगारी अन्त्यको लागि पनि नगरपालिकाले विभिन्न किसिमको कार्यक्रम ल्याएको र सञ्चालन गर्दै आएको पनि उनले बताए । स्थानीय सरकार आफैँमा एउटा सवल सरकार रहेको हुँदा जनतालाई विकासको प्रत्यक्ष अनुभूति हुने गरी निति तथा कार्यक्रम ल्याइएको उनले बताए । आउँदो आर्थिक वर्षमा आन्तरिक आयलाई थप व्यवस्थित बनाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढी प्राथमिकता दिइएको मेयर यादवले जनाए ।