पवन प्रसाद साह पर्सा असार, १५ गते
चट्याङ लागेर पर्सामा मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको बिहान ७ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो । यादव भैंसी चराउन गएका थिए ।
यसै गरी बिहान भैंसी चराउन गएका सखुवाप्रसौनी– १ गदियानीका २७ वर्षीय रोसुला गदीको पनि चट्याङ लागेर मृत्यु भएको डीएसपी खनालले जनाए । गदीसँगै रहेका राजबली गदी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जनाए ।
खेतमा रोपाइँ गर्न गएकी जिराभवानी– ३ जितपुर बस्ने ५० वर्षीय असुतरनीदेवी थरुनीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । थरुनीसँगै रहेका अन्य ३ जना सामान्य घाइते भएका छन् ।