आरके श्रीवास्तव । कटहरिया । असार १७ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुश्वाहाले पदभार ग्रहण गर्नु भएको छ । उनका सयौं समर्थकहरूले फूलमाला र टीका लगाएर स्वागत गरेका छन् । सर्वोच्चले रौतहटका २ नगरपालिकाका नगर प्रमुखको पद पुनर्वाहली गरेसँगै कटहरिया नगरपालिकाका नगर प्रमुख कुश्वाहाले बिहिवार पुनस् पदभार ग्रहण गर्नु भएको छ । आज एक कार्यक्रमका साथ कुश्वाहाले नगरपालिकाको कामकाज औपचारिक रुपमा सम्हाल्नु भएको छ । जिल्लाको मौलापुर र कटहरिया नगरपालिकाका नगर प्रमुखले दल त्याग गरेको जनाउँदै रौतहटका २ नगर प्रमुखसहित ७ जनाको पद रिक्त भएको निर्वाचन आयोगले गत असार ११ गते एक सुचनामार्फत जनाएको थियो । तर सर्वोच्च अदालतले मंगलबार नै दुबै नगरपालिका मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहको पद पुनर्वाहाली गरि दिएको थियो । पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै रौतहटका दुबै नगर प्रमुखको पद पुनर्वाहाली भएको हो । न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै नगर प्रमुख पदमा पुनर्वहाली गरिदिएको हो ।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी काम कारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ । नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा नगर प्रमुख साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । यसअघि पनि विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधि अन्तरिम आदेशबाट पुनर्वहाली भएका छन । हिजो बुधबार मात्रै मौलापुर नगरप्रमुख रिना कुमारी साहले पदभार ग्रहण गर्नु भएको थियो ।