आरके श्रीवास्तव । रौतहट । असार १९ गते
अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीको पानी कजबेमाथी भएर बग्न थालेपछि रौतहटको कटहरिया गम्हरीया सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । पछिल्लो चार दिनदेखिको लगातार भइरहेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरिया गम्हरिया घाट पुलछेउको बाटोमा निर्माण गरिएको कजबे पुर्ण रुपमा डुवानमा परेका कारण आवागमन ठप्प भएको हो । कटहरिया गम्हरीया सडकखण्डको लालबकैया नदीको पुल भन्दा करिव सय मिटर पश्चिमपटि मुख्य बाटोमै अन्दाजी करिव १०० मिटर लामो कजबे निर्माण गरिएको छ । लालबकैया नदिमा आएको बाढीको पानी सो कजबे माथी नै भएर बग्न थालेपछि सो बाटो अहिले अवरुद्ध भएको छ । कजबेमाथी भएर बाढीको पानी तिन फिट भन्दा बढी पानी जान थालेको छ जसका कारण यातायात सञ्चालन पुर्ण रुपमा बन्द भएको छ । कटहरिया नगरपालिका ४ लालबकैया नदिमा निर्माणधिन पुलको बाटोमा रहेको उक्त कजबे डुवानमा पर्दा शुक्रवारदेखी नै सो सडकखण्ड अवरुद्ध रहेको छ । कटहरिया,गरुडा आसपासका दर्जन बढी गाउँका मानिस कलैया बिरगञ्जसम्म जाने पुलकै बाटो प्रयोग गर्दै आएका छन । हाल उक्त बाटो अवरुद्ध भएपछि सो क्षेत्रका हजारौं मानिसलाई कलैया बिरगञ्ज आउनजान १५ किलोमिटर घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको बहादुरपुरका स्थानीय बासिन्दा मनोज साहले बताए । सरकारले कजबे बनाएको सो ठाउँमा पुलको आवश्यक्ता छ तर पुल बनाउनुपर्ने ठाउँमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले कजबे बनाएपछि प्रत्येक वर्ष लालबकैया नदिमा आउने बाढीको पानीले सो कजबे डुवानमा पर्ने गरेको छ जसका कारण प्रत्येक वर्ष बर्खायाममा सो सडक अवरुद्ध हुने गरेको छ । बाढीको पानीले सडक अवरुद्ध हुँदा सो भेगका हजारौ मानिसले बाटोको समस्या झेल्दै आएका छन । सो कजबे प्रत्येक वर्ष डुवानमा पर्दै आएको र स्थानीयहरुलाई आवतजावत गर्न ठुलो समस्या हुँदै आएपनि समस्या समाधानका लागि सम्बन्धित निकायले कुनै चासो लिएको छैन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको चरम लापरवाहीका कारण प्रत्येक वर्ष वर्षातको समयमा आफुहरु बाटोको समस्या झेल्दै आएको स्थानीय लक्ष्मी साहले बताएका छन । पुल बनाउनुपर्ने ठाउँमा डिभिजन कार्यालयले कजबे बनाएका कारण अहिले बाढीको पानी सो कजबेमाथी भएर नै बग्न थालेपछि सडक अवरुद्ध हुन पुगेको कटहरिया नगरप्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुश्वाहाले बताए । कजबेमाथी बाढीको पानी बग्न थाल्दा सरकारको लगानी बालुवामा पानी फेरे झै भएको उनले बताए । सो ठाउँँमा पुल बनाएपछि मात्र यो समस्या समाधान हुने साहले बताए । साह जस्तै अन्य स्थानीयहरुले पनि उक्त सडक खण्डमा निर्माण गरिएको कजबेको ठाउँमा पुल बनाउन सम्बन्धित निकायसँग माग गरेका छन । बाढीबाट हुने डुवान तथा अन्य समस्यासँग जुध्न पूर्व तयारी पूरा भएको स्थानीय प्रशासनले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाढी बाट हुने जोखिम न्यून गर्न अथवा समस्यामा परेकालाई उद्वार गर्न मोटर बोट,प्लास्टिक र काठको डुङ्गा सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एकसयभन्दा बढी जवान २४ औं घण्टा तयारी अवस्थामा रहेको बताउनुभएको छ ।अविरल बर्षाको कारण जिल्लाको केही भाग डुबानमा परेको छ भने ग्रामीण भेगको बाटो हिलामय भएर आवतजावत गर्न कठिनाइ भएको छ ।