दिपेन्द्र जयसवाल,बारा साउन ५ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया देखि निजगढ सडकखण्डमा पर्ने पुलहरु जिर्ण हुँदा सवारीसाधन आवागमनमा समस्या भएको छ । राजमार्गको पसहा, बालगंगा र लालबकैया खोलाका पुलको पिच भत्किएर ठुल्ठुला खाल्डो परेको छ । जसका कारण सवारी साधनहरु घण्टौं जाममा परेर एकतर्फी आवागमन गर्नु पर्ने बाध्यता छ । पुलको दुरावस्थाका कारण सवारी चलाउन डर लाग्ने गरेको चालकहरुले बताउने गरेका छन् । खाल्डा खुल्डीमा गाडी बचाएर पार गर्नु पर्ने अवस्था रहेको अर्का चालक सुमन कार्कीले बताएका छन् । एकतर्फी आवगनमका कारण घण्टौदेखि पुलको छेउमा जाममा बस्नु परेको उनले बताउनु भयो । पुल जिर्ण हुँदा यातायात सेवा निकै प्रभावित बनेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरिक्षक हिमालय श्रेष्ठले बताएका छन् । आवागमन सहजताका लागि चौबिसै घण्टा प्रहरी सक्रिय रहेको उनले जानकारी दिनु भयो । बारा जिल्लाको लाल बकैया, पसाह, बालगंगा र रौतहट सर्लाही जोड्ने वागमती पुल जिर्ण बन्दा समस्या भएको हो । जिर्ण पुलहरुको तत्काल सुधार गरिदिन सडक विभागसँग कुरा गरेको र केही दिनमै मर्मतको काम गर्ने भनिएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले बताउनु भयो । सडक विभाग हेटौंडा कार्यालयका प्रमुख खड् गलाल श्रेष्ठले जीर्ण पुलहरुको चाँडै मर्मत गरिने बताएका छन् ।