तोकिएको भाडाभन्दा बढी भाडा असुलेका केही सबारी साधनलाई ट्राफिक प्रहरीले चेकजाँच गरी भाडा नै फिर्ता गराउने काम गरिरहेको छ । दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस प्रकारको चेकजाँचलाई अगाडि बढाएको हो । यसरी चेकजाँचलाई अगाडि बढाउँदा सार्वजनिक बसले यात्रुसित बढी भाडा लिएको पाइएमा बढी भाडा फिर्ता गराउन थालेको छ । सार्वजनिक बसका भाडा उठाउनेलाई पनि सम्झाइ बुझाइ गरी बढी भाडा नअसुल्न चेतावनी दिन थालिएको छ र बढी भाडा फिर्ता गराई यात्रुलाई दिन थालिएको छ । वास्तवमा यस प्रकारको कामले गर्दा ट्राफिक प्रहरीको भने प्रशंसा हुन थालेको छ । यस प्रशंसनीय कामको नागरिक समाजको तर्फबाट पनि ट्राफिक प्रहरीलाई सम्मान गरिनु आवश्यक देखिन्छ । पथलैयास्थित ट्राफिक प्रहरीले अभियानकै रुपमा सार्वजनिक यातायातलाई चेकजाँच गर्न थालेको छ । सार्वजनिक यातायातले यात्रुसित बढी भाडा असुलिरहेको छ भन्ने गुनासो आउन थालेको थियो । भर्खर यातायात सुचारु हुन थालेको अवस्थामा यस प्रकारको गुनासो आउँदा ट्राफिक प्रहरीले त्यसको आफ्नो तर्फबाट हुन सक्ने सम्बोधन गर्न थालेको हो । ऐनलाई टेकेर प्रहरीले तत्काल अन्य यात्रुलाई पनि मर्का नपर्ने तथा ठगीमा परेका यात्रुले पनि ठगिएको रकमसम्मको राहत पाउने उपाय भनेको यही प्रक्रिया हो । यस प्रक्रियामा ट्राफिक प्रहरीलाई सफलता मिलिरहेको छ । साथै सार्वजनिक यातायातमा भाडा असुल्नेहरु पनि सचेत हुन थालेका छन् । यात्रुहरु पनि सचेत हुनु आवश्यक छ । यात्रुहरु सचेत हुँदा नै ठगिनबाट जोगिन सक्छन् । तर कतिपय अवस्थामा आफूलाई ठगिएको थाहा हुँदाहुँदै पनि तत्काल कतै पुग्नुपर्ने हुन्छ भन्ने अवस्थामा सहेर बस्नु बाध्यता हुन्छ । यस्तो अवस्थामा यदि ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ भने तत्काल सही कुरा जानकारी गराउन सकिन्छ । यसले सबैलाई राम्रो हुने देखिन्छ । ट्राफिक प्रहरीको यस प्रकारको सार्थक कार्यको प्रशंसा गर्दै यात्रुलाई ठगिनबाट जोगाउन जजसले भौतिक, नैतिक तथा कानुनी रुपमा सहयोग गरिरहेका छन्, तिनीहरुलाई धन्यवाद दिनु पर्दछ । यस सुन्दर कार्यले निरन्तरता पाइरहोस् ।
ट्राफिक प्रहरीको सराहनीय काम — सम्पादकीय
