निकै लामो समयदेखि नेकपा एमालेमा विवाद रहेको छ । पार्टीभित्र दुईओटा पार्टी सञ्चालनमा रहेको जगजाहेर छ । अध्यक्ष केपिशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको दुई गुट लामो समयदेखि चलिरहेको थियो र अहिलेसम्म छ पनि । एक समूहले अर्को समूहलाई कारबाही गर्ने काम पहिलेदेखि नै चलिरहेको छ । पार्टी सरकारमा गएको केही समयपछि दुई समूहबीच टकरावको स्थिति आएको कहिले वार कि पार होला भन्नेजस्तो भइरहेको थियो । दुईओटा पार्टी घोषणा हुन औपचारिकता मात्र बाँकी रहेकोसम्मको अनुमान पनि सार्वजनिक नभएको होइन । ओली समूहले स्पष्टीकरण नसोधेको पनि होइन तर सबै अनुमान तथा समाचारहरूभन्दा निकै पृथक रहेर अध्यक्षको हैसियतमा ओलीले विहीवार घोषणा गरे कि बाटो बिराएका सबैलाई आममाफी । यस घोषणासँगै अब एमाले कुनै पनि हालतमा फुट्दैन भन्ने सन्देशको प्रसार भइसकेको छ । नयाँ घोषणा गरेर सधैँ चर्चामा आएका एमाले अध्यक्ष ओलीको यो घोषणा धेरैका लागि आश्चर्यजनक नै रहेको छ । पार्टीमा धेरै मतभेद कायम छ, वैचारिक मतभिन्नता पनि धेरै नै रहेको छ, व्यक्तित्वको टकराव पनि उच्च रहेको छ तर यी सबैबीच पनि एमाले अब फुट्दैन भन्ने अनुमान आज धेरैले सार्वजनिक गरेका छन् । अनेक कठिन परिस्थितिमा पनि दोस्रो तहका नेताहरुले पार्टी एकतालाई जोगाउनमा सफलता प्राप्त गरेका छन् भन्ने अब धेरैलाई लागिसकेको छ । अब केही समय एमालेको फुटको बारेमा फेरि कसैले विचार सार्वजनिक नगर्लान् । एमालेको विवाद एमालेले नै मिलाउँछ । केही नेताहरुले पहिलेदेखि भन्दै आएका थिए । लाखौँ कार्यकर्ताको लगानी रहेको एमालेले विवादहरु साम्य नबनाए पनि अब विवादहरु समाधान हुने दिशामा आफूलाई अग्रसर बनाएको सन्देश दिन सफल भएको छ । एमालेको विवादमा देखिएको यो नयाँ रोचकता हो । अब सकारात्मक निकास पाउने विश्वास कार्यकर्ताहरुमा आएको छ । अब केही दिनमा एमालेमा गुटको अस्तित्व केवल नाममात्रको रहन्छ भन्ने अनुमान सार्वजनिक गर्नेहरु पनि निस्किन सक्छन् ।