दिपेन्द्र जयसवाल,बारा साउन १० गते ।
डिभिजन वन कार्यालय, सिमरा बाराको निर्देशनमा पोखरीमा पानी जम्ने गरी माटो फिलिङ गर्ने कार्य वन समूहले शुरू गरेको छ । बाराको निजगढ नगरपालिका वडा नं.४ बागदेव स्थित बागभैरव सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन क्षेत्रभित्र नयाँ पोखरी निर्माण गरेपनि पानी अडिने वा नअडिने कुनै ख्याल नगरी पोखरी खनेर रकम सिध्याएपछि त्यसको विरोध भएपछि वन कार्यालयले वन समूहलाई कम्तीमा ६ इन्च बाक्लो माटो फिलिङ गर्न निर्देशन दिएको थियो । यस अघि पोखरी खन्दा निस्केको बलौटे माटो पोखरीमा छर्केर रकम पचाउने कोसिस गरेपनि कडा निगरानी बढेपछि रकम निकासा नहुने देखेर बाध्य भएर माटो फिलिङ गर्ने काम शुरू भएको हो । चुरे फेद आसपास र एक सय बिघाभन्दा बढी नदी उकास वन क्षेत्र नजीकै बनाइएको पोखरी निर्माण गर्न डिभिजन वन कार्यालय, बाराले २८ लाख ५० हजार रकम निकासा गरेको थियो । उक्त पोखरी निर्माणका लागि वन समूहको तर्फबाट अध्यक्ष सुदर्शन लामिछानेले सम्झौतामा सही छाप गरेका थिए । तर सो पोखरीमा पानी अड्ने वा न अड्ने कुनै ठेगान नभएपछि पानी अडाउन वन कार्यालयले माटो फिलिङ गर्न ताकेता गर्दै आएको थियो । माटो फिलिङ गर्न थप रकम डिभिजन वन कार्यालय बाराले नभई समूहले बेहोर्नुपर्ने उपभोक्ताहरूको माग छ । पोखरी बनाउने रकमबाटै पोखरीमा माटो फिलिङ गर्ने वन समूहको निर्णय रहेको कोषाध्यक्ष राम खड्काले बताएका छन् । वन समूहले आफ्नो वन क्षेत्रभित्र माथिल्लो पुरानो पोखरी सफा गर्ने र फराकिलो बनाउँदा निस्कने माटोबाट नयाँ पोखरी फिलिङ गर्नेगरी काम अघि बढाएको उनले जानकारी दिनु भयो ।