दिपेन्द्र जयसवाल,बारा साउन २० गते ।
बारामा निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्डविपरीतका गतिविधि बढ्न थालेका छन् । मास्क नलगाई र भौतिक दूरी कायम नगरी बजार, यातायातलगायत सार्वजनिक स्थानमा भीडभाड बढेको हो । प्रशासनले खुला गर्न अनुमति नदिएका विद्यालय, पार्टी प्यालेसलगायत क्षेत्र पनि सञ्चालन हुन थालेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्न थालिएको छ । बस र विद्यालय जथाभावी सञ्चालन गरिएको छ,नागरिक समाजका अध्यक्ष उमेशलाल दासले भने स्वास्थ्यलाई ख्याल गरिएको छैन । पैसा कमाउने होडबाजी चलाइएको छ । यसविरुद्ध स्थानीय प्रशासनले कडाइ गर्नुपर्ने उनले बताएका छन् । नत्र स्वास्थ्य जोखिम निम्तिन सक्ने उनको भनाइ छ । कलैया उपमहानगरपालिकाले मंगलबारदेखि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने अनुमति दिए पनि त्यसको पालना हुन सकेको छैन । पालिकाले एउटा बेन्चमा एउटै विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न र कक्षाकोठा, शौचालयलगायतमा दिनहुँ सेनिटाइज गर्न भनेको छ । तर त्यसको पनि पालना हुन सकेको छैन । बाराको कलैया, जितपुरसिमरा, महागढीमाई र निजगढलगायत पालिकामा यस्तो समस्या बढ्न थालेपछि प्रशासनले सोमबार सूचना जारी गर्दै चेतावनीसमेत दिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्वास्थ्य मापदण्डविपरीत गतिविधि बढेपछि कारबाही गर्ने चेतावनी दिएको बताएका छन् । आदेशको बर्खिलाप गरेको पाइएमा कडा कारबाही गरिनेछ,उनले भनेअटेर नगर्न चेतावनी दिइएको छ । निषेधाज्ञाको फाइदा उठाउँदै जथाभावी गर्न खोजिएको उनको भनाइ छ ।