काठमाडौं- अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्न सरकारले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिबारे जानकारी लिएर चाँडो उद्धार गर्न निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भने, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन सरकारले निर्देशन दिएको छ।’
बैठकमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले लन्डनमा जारी राखेको अनशनप्रति ध्यानाकर्षण भएको उनले बताए। सरकारले उनीहरूका माग पूरा गर्न कूटनीतिक माध्यमबाट प्रक्रिया अगाडि बढाएको छ। कार्कीका अनुसार सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको उनले जानकारी दिए । श्रोत : नेपाल समय