काठमाडौं । काठमाडौंमा आजदेखि १८ वर्षमाथिका ‘‘प्लस टू’’ अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइँदैछ । परीक्षामा सहभागी हुन लागेका विद्यार्थीलाई लक्षित गरी खोप दिने क्रममा सरकारले ‘‘प्लस टू’’ तहमा अध्ययनरत विद्यार्थीलाई खोप दिने निर्णय गरेको हो ।
सरकारको यो निर्णयले एकातर्फ परीक्षा सञ्चालनको बाटो खोल्न खोजेको देखिन्छ भने अर्कोतर्फ १८ वर्ष मुनिका ‘‘प्लस टू’’ अध्ययनरत विद्यार्थीको हकमा के हुन्छ भन्ने अन्यौल पैदा भएको छ ।
कोभिड–१९ को जोखिम समूहअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप दिने प्राथमिकता निर्धारण गरेको छ । सोही प्राथमिकता अनुसार अहिले ‘प्लस टू’ मा अध्ययनरत विद्यार्थीलाई खोप दिने निर्णय गरिएको हो । १२ कक्षाको परीक्षामा सहभागी हुन लागेका विद्यार्थीको संख्या चार लाखभन्दा बढी रहेको छ । अहिलेलाई यो निर्णयको कार्यान्यन काठमाडौंबाट सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
“अहिलेलाई कमसेकम परीक्षामा सहभागी हुन लागेक एक तिहाइ विद्यार्थीलाई खोप दिन पाइयो भने जोखिम कम हुन्छ भन्ने हाम्रो आकलन हो । नेपालमा अहिले फैलिइरहेको ‘डेल्टा भेरियन्ट’को सर्ने सम्भावनालाई हेरेर एक तिहाइलाई खोप दिन सकियो भने परीक्षा सञ्चालन गर्ने वातावरण बन्छ भन्ने आकलनका साथ यस्तो निर्णय गरिएको हो,” डा. पौडेलले भने ।