कृष्ण तिवारी – भदौ ५ गते
जिल्ला प्रहरी कार्यालय रौतहटले रिसिवी साधेर निर्दोष संचारकर्मीलाई फसाउने कार्य गरेको पुष्टी भएको छ । साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएको छ । समाजिक संजालमा प्रहरीका विरुद्धमा लेखेको रिसिवी साध्न प्रहरीले रौतहटबाट संचालन हुने एक अनलाई न्यूज पोर्टलका संचालक मो. मोजिबुल्लाहलाई षडयन्त्रपूर्ण तरिकाले फसाएको हो । गौर नगरपालिका रोडमा रहेको एक होटेलमा खाजा खान गएका ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलिले लागुऔषध नाइट्राभेट सहित पक्राउ परेको बताएको थियो । असइ उदय यादवको नेतृत्वमा रहेको प्रहरीटोलीले होटेल बाहिर पार्किङ्ग गरि खाजा खान गएका व्यक्तिको मोटरसाइकलमा सो नाइट्राभेट राखेको भिडियोमा देखिएको छ । असइ उदय यादव तथा प्रहरी जवान मनोज साहले दुई युवाहरुलाई प्रयोग गरी आफ्नै निगरानी तथा प्रत्यक्ष उपस्थीतिमा सो लागु औषध मोटरसाइकलमा राख्न लगाएका हुन । सिसिटिभीको १८ बजेर ७ मिनेटको फुटेज देखी १८ बजेर १८ मिनेको फुटेजमा प्रहरीको षडयन्त्रको पर्दाफास भएको छ । दुई युवाहरु पुगेको केही सेकेण्डमै असइ यादव र प्रहरी जवान साह होटेल बाहिर आएको र १८ बजेर १२ मिनेटमा असइ यादवले स्वम सो मोटरसाइकलमा लागुऔषध राख्ने स्थान निश्चीत गरेको देखिएको छ । सिसिटिभीको १८ बजेर १८ मिनेटको दृश्यमा मोटरसाइकलमा लागुऔषध राखे पछि प्रहरी त्यहाँबाट गएको र १८ बजेर ४२ मिनेटमा होटेलबाट मोजीबुल्लाह फर्किएको देखिएको छ । प्रहरीलेनै लागुऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै पत्रकार महासंघ रौतहटले गम्भीर आपती जनाएको छ । प्रहरीले गरेको निन्दनीय अपराधका लागी रौतहटको प्रहरी प्रमुख देखी लिएर घटनामा संलग्न सबैलाई तत्काल निलम्बन गरी कारवाही गर्न पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले माँग गरेका छन । घटनामा फसाइकाहरु निर्दोष भएको प्रमाणित भएकोले अब नैतिकता आधारमा पनि प्रहरीले उनीहरुलाई तत्काल रिहा गर्नु पर्ने उनले बताए । प्रहरीले व्यक्तिलाई फसाएको यस घटनामा संलग्न भएकाहरुको बारेमा केन्द्रीय स्तरबाटै जाँच हुनुपर्ने पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताएका छन । घोरआपती जनक कार्यको विरोध गर्दै प्रहरीको यस्ता किसिमका हर्कतहरुको निन्दा गर्ने उनले बताए । प्रहरीकै उच्च अधिकारीहरुको निर्देशनमा घुमुवाटोलीले लागुऔषध मोटरसाइकलमा राख्न लगाएर निर्दोषलाई पक्राउ गरेको श्रोतको दाबी छ । प्रहरी आफै संलग्न भएको घटनामा अनुसन्धान गर्ने भन्दै धिरज यादव तथा जितेश यादवलाई नियन्त्रणमा लिए पनी सिसिटिभीमा देखिएका अइस सहितको प्रहरी कर्मचारीलाई भने कारवाही भएको छैन । भिडियोमा देखिएका व्यक्तिहरुलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको र यस विषयमा तत्काल केही बोल्न नसकिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।