ओम प्रकाश यादव गरुडा समाचारदाता भदौ ५ गते, रौतहट ।
रौतहटमा नेपाल प्रहरीका घुमुवाले एक जना पत्रकारलाई लागुऔषध मुद्धामा सडयन्त्र गरी फसाएको घटना बाहिरिएको छ ।
केही दिनअघि मात्र रौतहट प्रहरीले लागुऔषध सहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई मोटरसाइकल सहित गौरबाट पक्राउ गरेको थियो ।
घुमुवा प्रहरीले नै पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राख्न लगाएर पक्राउ गरेको सिसिटिभी फुटेजले देखाएको छ ।
प्रहरीले पत्रकारलाई सडयन्त्र गरी फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले शनिवार प्रेस विज्ञप्ती जारी गरी प्रहरीको यस्तो निन्दनीय कार्यको घोर निन्दा गरेको छ । समाचार लेखेकै निहुमा पत्रकारलाई लागुऔषध जस्तो अति संवेदनशील मुद्धामा फसाउने नेपाल प्रहरीको गैर कानुनी कार्यप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको पत्रकार महासंघले विज्ञप्ती मार्फत जनाएको छ । जिल्ला प्रहरी कार्यालय गौरमा अपराध अनुसन्धानमा खटेका नेपाल प्रहरीका घुमुवा प्रहरी प्रहरी सहायक निरीक्षक असई उदय प्रसाद यादव, प्रहरी जवान मनोज साह लगाएतका घुमुवा प्रहरीले नै पत्रकार मोजिबुल्लाहको गाडीमा १ सय ५ थान नाइट्र«ोभेट टयाबलेट लागुऔषध राखेर उनलाई पक्राउ गरेको पत्रकार महासंघ रौतहटले जनाएको छ ।
साउन ३२ गते राति ८ बजेको समयमा गौरको ग्रिण सिग्नल होटल अगाडि पार्किंग गरी राखिएको अवस्थामा पत्रकार मोजिबुल्लाहको गाडीमा असई यादव सहितका घुमुवाहरुले आफना रोहवरमा दुई जना अन्य व्यक्तिसँग उक्त लागुऔषध राख्न लगाएको सिसिटिभी फुटेजमा प्रस्ट देखिएको महासंघको विज्ञप्तीमा उल्लेख छ । निर्दोश पत्रकार मोजिबुल्लाहलाई रिहा गर्न तथा घटनामा संलग्न घुमुवा प्रहरीहरुलाई हदैसम्मको कार्यवाही गर्न पत्रकार महासंघ रौतहटले जोडदार माग गरेको छ । भदौ ८ गते सोमवारसम्म पत्रकार मोजिबुल्लाहलाई रिहा गर्न तथा दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न प्रहरीलाई महासंघले आग्रह गरेको छ । प्रहरीले भदौ ८ गते सोमवारसम्म पत्रकार मोजिबुल्लाहलाई रिहा र दोषी प्रहरीलाई पक्राउ गरी सार्वजनिक नगरे कानुनी राज्य, विधिको शासन र मानव अधिकारको पक्षमा रही चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने नेपाल पत्रकार महासंघ रौतहट शाखाले चेतावनी दिएको छ ।