सुन तस्करी उजुरीकर्तामाथि नै भ्रष्टाचार मुद्दा, उल्टै परे कारबाही

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (१० घण्टा अघि)
  • ९२ पटक पढिएको
सुन तस्करी उजुरीकर्तामाथि नै भ्रष्टाचार मुद्दा, उल्टै परे कारबाही

काठमाडौं, ०२ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल । यी तीन कर्मचारीले माथिल्लो तहमा खबर नगरेको भए विद्युतीय चुरोट(भेप) भित्र राखेर भइरहेको सुन तस्करीको घटना सतहमा नै आउने थिएन ।

घटनाको करिब साढे दुई वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तस्करीको लिखित सूचना र प्रतिवेदन दिने ती कर्मचारीहरूलाई नै तस्करीमा संलग्न भएको आरोप सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको निर्णय कतिसम्म विरोधाभाषयुक्त छ भने, भ्रष्टाचार मुद्दा लागेका तिनै कर्मचारीहरू जिल्ला अदालतमा सुन तस्करीको सूचना र प्रतिवेदन दिने साक्षीको हैसियतले बकपत्र दिन गइरहेका छन् ।

ठूला र हाइप्रोफाइल व्यक्ति जोडिएका भ्रष्टाचारमुद्दा दायर गर्ने दबाबमा परेको अख्तियारले त्यसक्रममा तस्करी र अनियमितताको सूचना दिने कर्मचारीहरूलाई समेत मुद्दा चलाएको हो । घटनाको दुई वर्षसम्म कुनै अनुसन्धान नगरेको अख्तियारले नयाँ सरकार गठन भएलगत्तै मुद्दा दायर गरेको हो ।

भन्सारले जफत गरेको भेप

१० पुस, २०८० । बिहान साढे ७ बजे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको चेकप्वाइन्ट । फ्लाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हाङ सुङले ल्याएका दुईवटा सुटकेसजाँचका क्रममा बरामद भयो । सुटकेसभित्र थियो, ७३ वटा बट्टामा राखिएका ७३० वटा विद्युतीय चुरोट(भेप) ।

व्यवसायिक रुपमा मात्रै ल्याउन मिल्ने ती सामान झिटीगुण्टाको रुपमा ल्याएको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुईवटा सुटकेस जफत गर्‍यो  ।

सामान जफत गरिएको पूर्जी र कागजात तयार गरेपछि ती सुटकेस प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको कार्यकक्ष छेवैमा राखियो । त्यसक्रममा भन्सारका नासु सरोज श्रेष्ठले सुटकेसमा रहेको भेपको फोटो खिचेका थिए ।

अन्तर्राष्ट्रिय यात्रुले ल्याउन पाउने छुटभन्दा बढी भेप ल्याएको भन्दै ती सामान जफत गरिएको थियो । अख्तियारको दाबीमा, ती सुटकेश करिब एक महिनाभन्दा बढी समय उपसचिव श्रेष्ठको कार्यकक्षमा राखेर २९ माघमा मात्रै गोदाममा पठाइएको थियो । तर, भन्सारको प्रतिवेदनमा ती सुटकेस यात्रु शाखाको काउन्टरमा रहेको भनी उल्लेख छ ।

सुन तस्करीबारे सूचित गरेका कर्मचारीहरूको दाबीमा, सुटकेशभित्र ल्याइएका भेपमा सुन लुकाइएको छ भन्ने शुरुमा थाहै थिएन । उनीहरूको भनाईमा, व्यवसायिक रुपमा ल्याउनुपर्ने सामान झिटिगुण्टाको सुविधामा ल्याइएको भन्ने आधारमा मात्रै जफत भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमै भन्सार जाँचपास युनिट अनि चेकप्वाइन्ट र केही कर्मचारीको कार्यकक्ष छ ।  तलपट्टी गैरीगाँउनिर भन्सार कार्यालय छ, जहाँ प्रमुखको कार्यकक्ष, अरु कार्यालय र गोदामहरू छन् । माथि भन्सारमा बरामद भएका सामान तलपट्टिको कार्यालयमा रहेको गोदाममा पठाउने अभ्यास छ ।

भेप बरामद भएपछि प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको संयोजकत्वमा मूल्यांकन समितिको बैठक बस्यो । प्रत्येक भेपको ७ सयका दरले कुल ५ लाख ११ हजार मूल्यांकन गरेको थियो । तर, लिलामीको प्रक्रिया भने अघि बढेको थिएन ।

सुरक्षा गार्डको बदमासी

निर्मल विक एयरपोर्ट भन्सार कार्यालयमा कार्यरत सुरक्षागार्ड हुन् । ती दुई सुटकेस एयरपोर्ट टर्मिनलबाट तल ल्याउने क्रममा उनले पनि ओसार्न सहयोग गरेका थिए । गोदाममा सुटकेस राखेपछि उनले त्यसलाई फुटाएर त्यहाँभित्र राखिएको सामान हेरेका रहेछन् ।

जिल्ला अदालत, काठमाडौंमा दायर भएको आरोपपत्र र अख्तियारकै विवरण अनुसार, त्यसक्रममा निर्मलले एउटा भेप चोरेर लगे । घरमा लगेपछि बाल्ने प्रयास गरे, तर मुखले तान्दा धुँवा नआएपछि उनले भेपका ब्याट्री निकाल्न थाले, त्यसक्रममा सानो पँहेलो टुक्रा भुईमा खस्यो ।

उनले त्यसलाई नजिकैको सुन पसलमा लगेर देखाए, पसलेले सुन भएको बताएपछि उनले त्यसको सिक्री बनाए र बाँकी रहेको सुन दिएरै ज्यालाको पैसा कटाए । र, बँचेको करिब ३ हजार रुपैयाँ सुन पसलबाट नगदै लिए ।

ती सुरक्षागार्डले भन्सारका सामानहरू लिलाम बिक्री गर्ने बब्लु गुप्ता नाममा व्यक्तिलाई भेटे र सुटकेशमा रहेको भेपभित्र सुनको टुक्रा रहेको बताए । अनि बब्लुलाई लिलामी हुन लागेका ती भेप जसरी पनि सकार्न आग्रह गरे ।

भन्सारका सामान किनबेच गर्ने बब्लुले एयरपोर्ट भन्सारको मुद्दा शाखाका नासु रेवन्त खड्कालाई भेटे । त्यसक्रममा उमेश पकुवाल र भन्सारमा जाँचपासको काम गरिदिने दिनेश बस्नेत जोडिए । नासु रेवन्त र भन्सारमा काम गर्ने दिनेश बस्नेतले सुन बेच्न भारतीय नागरिक वेदनप्रकाश अग्रवालसँग डिल गगिसकेका रहेछन् ।

उनीहरूले भन्सारको गोदाममा भएको सुटकेश निकाले । र, सुटकेशमा भएको भेप र भेपभित्र रहेका सुनका टुक्रा निकाली बेदनप्रकाशलाई बेचे । त्यसपछि, नयाँ विद्युतीय चुरोट(भेप) किनेर त्यही सुटकेशमा हाले र भन्सारको गोदाममा राखिदिए ।

तर, त्यसभन्दा पहिले नै भेप भएका सुटकेसहरू जफत भएपछि एयरपोर्ट भन्सारमा तारन्तार फोन आउन थाल्यो । राहुल महरा र उनका बाबु एवं पूर्वसभामुख कृष्णबहादुर महराले तारन्तार सुटकेस छुटाउन फोन गर्न थाले ।

एयरपोर्ट भन्सारका उच्च पदस्थ कर्मचारीहरूको दाबीमा, त्यतिञ्जेलसम्म उनीहरूलाई भन्सारबाट जफत भएको सुटकेसभित्र रहेका भेपमा सुन लुकाइएको छ भन्ने थाहा थिएन । प्रमुख भन्सार प्रशासक अरुणकुमार पोखरेलले जफत भएको भेप लिलाम बिक्रीको प्रक्रिया थाल्न निर्देशन दिइसकेका थिए ।

त्यसबीचमा भन्सारमा काम गर्ने बब्लु गुप्ताले सुटकेसमा शंकास्पद बस्तु रहेकोले सबैको चासो रहेको भनी कर्मचारीहरूलाई बताए ।

त्यो सम्भव नभएपछि जफत भएको सुटकेसको लिलामी आफूहरूलाई नै पारिदिनुपर्‍यो भन्ने दबाब दिन थाले । एकातिर सुटकेस मिलाउन ‘हाइप्रोफाइल’ दबाब पर्नु, अर्कोतिर सुटकेसमा शंकास्पद सामान रहेको भनेर सूचना आउन थालेपछि कर्मचारीहरू झस्किए । त्यसपछि भन्सारका कर्मचारीहरूले सुटकेसलाई एक्सरेमा लगेर स्क्यान गरे, केही देखिएन ।

त्यहीबीचमा केही कर्मचारीले शुरुमा नै सुटकेसमा भएको सामानको फोटो खिचेको थाहा भयो । त्यसपछि प्रमुख भन्सार प्रशासक पोखरेल, प्रमुख भन्सार अधिकृत श्रेष्ठ लगायतले फोटो खिच्ने कर्मचारीको खोजी गर्न थाले । पछि फोटो भेटिएर रुजु गर्दा भेप साटिएको फेला पर्‍यो ।

एकाएक सुटकेसभित्र राखिएको भेप साटिएको थाहा भयो । जफत हुने बेलामा नै भन्सारका नासु सरोज श्रेष्ठले सुटकेसमा रहेको भेपको फोटो खिचेका थिए । तर, गोदाममा रहेको सुटकेसमा अर्कै थरी बट्टामा रहेको भेप भेटियो । फोटोसँग तुलना गरेर हेर्दा सामान साटिएको पक्कापक्की भयो, भन्सारका कर्मचारीहरूले नासु रेवन्त खड्कालाई बोलाएर केरकार गरे ।

तस्करी सकिएपछि रिसोर्टमा पार्टी

प्रमुख भन्सार प्रशासक अरुणकुमार पोखरेल र भन्सार अधिकृत अम्बिका खनालले केरकार गरेपछि नासु रेवन्त खड्काले भेप साटिएको स्विकार गरेनन् । ‘कतै यतायता परेको हुनसक्छ’ भन्दै टारे र त्यसपछि कार्यालयबाट गायa हुनासाथ । कार्यालय आउनुको साटो माथि टर्मिनलमा रहेको इ–हाजिरीमा डिजिटल हाजिर गरेर उनी हिडिँरहेका थिए ।

तत्काल भन्सार अधिकृत अम्बिका खनालको नेतृत्वमा अध्ययन समिति बन्यो, समितिले भेप साटिएको भनी किटानी सहित प्रतिवेदन दियो । प्रतिवेदन पाएलगत्तै पोखरेल, खनाल लगायतले नासु खड्कालाई बोलाएर ‘आफ्नो जिम्मामा रहेका सामान तत्काल खोजेर दुरुस्त राख्न’ निर्देशन दिए ।

त्यसपछि अप्ठेरोमा परेका रेवन्तले दिनेश बस्नेतलाई भेप साटिएको खुलासा भएको बताए । अन्तत: प्रहरीमा उजुरी गर्ने चेतावनी पाएपछि दिनेशले ६ करोड रुपैयाँमा त्यहाँभित्रको सुन बेचिएकाले अब फिर्ता गर्नै नसक्ने बाध्यता सुनाए । त्यसपछि भेपभित्र सुन रहेको र त्यही बेचेर एक करोड रुपैयाँ उनले पाएको यथार्थ खुल्यो ।

सुन बेचेर पाएको दाममध्ये दिनेश बस्नेतले ६५ लाख रुपैयाँ भन्सारका नासु रेवन्त खड्कालाई दिएको देखिन्छ । आरोपपत्र र अदालतमा पेश भएका दस्तावेजहरू अनुसार, सुन बेचे बापत रेवन्त खड्काको साथी प्रेरणा थापाको खातामा ३० लाख र अर्का व्यक्ति ललिता भण्डारीको खातामा ३५ लाख रुपैयाँ ‘डिपोजिट’ भयो ।

रेवन्तले थप १० लाख रुपैयाँ पनि पाएका थिए, जुन रकम सुकुटे रिसोर्टमा पार्टी गर्ने लगायतका रमाईलोमा खर्च भयो । करिब एक करोड रुपैयाँ पाएका उनले बाँकीको हिसाबकिताब बुझाउन सकेका थिएनन् । सुन चोरी एवं तस्करीमा जोडिएका दिनेश बस्नेतको बयान अनुसार, भन्सारको गोदाममा रहेको सुटकेसमा रहेका भेपभित्र लुकाइएको सुन निकालेर बेचिएको हो ।

‘भेप फुटाएर झिकेको सुनको जम्मा परिमाण नौ किलो थियो, सबै सुन बिक्री गरेको हुँ’ उनले बयानमा भनेका छन्, ‘(व्यापारीहरूले)सबै सुनको बिक्री रकम ६ करोड २१ लाख भयो भनेका थिए । त्योमध्ये ६ करोड रुपैयाँ मात्रै उनीहरूले म लगायत अरुलाई दिएका हुन् ।’

दिनेशले आफूले पाएको रकममध्ये २ करोड ७५ लाख ससुरा रामकेशव थापाको नाममा जग्गा किनेको खुल्यो । त्यसक्रममा उनले ५१ लाख ९० हजारमा कारोबार भएको घोषणा गरी रजिष्ट्रेसन पास गरेर बाँकी नगद नै दिएको खुल्यो । ८० लाख रुपैयाँ आफ्नै नामको बैंक खातामा राखेको भेटियो ।

उनले बयानमा भनेका थिए, ‘काम सकिएपछि सुकुटे विच रिसोर्टमा ४ लाख रुपैयाँको पार्टी गरेको हो । बाँकी ८३ लाख के कहाँ खर्च भयो ? थाह भएन ।’

प्रतिवेदनले खोलेको थियो, रहस्य

भन्सार अधिकृत अम्बिका खनाल नेतृत्वको समितिले प्रतिवेदन दिएपछि भेप साटिएको थाहा भयो । त्यसपछि भन्सारका उच्चपदस्थ कर्मचारीले बारम्बार नासु रेवन्तमाथि केरकार थाले । अन्ततः उनले भेपमा सुन रहेको र त्यो आफूले बेचेर अर्को भेप साटेको स्विकारे ।

लगत्तै एयरपोर्ट भन्सार कार्यालयले सुटकेसभित्र रहेको सुन तस्करी भएको भन्दै अनुसन्धान गरिदिन सीआईबीमा लिखित पत्र दर्ता गरेको हो । त्यो चिठी बोकेर प्रमुख भन्सार प्रशासक अरुणकुमार पोखरेल आफैं सीआईबी पुगेका थिए ।

त्यही चिठीलाई संकेत गर्दै पक्राउ परेका नासु रेवन्त खड्काले बयानमा भनेका थिए, ‘सोही पत्र समेतका आधारमा म पक्राउमा परी आएको हुँ ।’ चिठी दर्ता भएको दुई दिनमा नासु रेवन्त खड्का पक्राउ परेका हुन् । त्यसपछि मात्रै भेपभित्र लुकाइएको सुन चोरेर बेचिएको खबर बाहिरिएको हो ।

जाहेरीपछि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान अघि बढाउन तदारुकता देखाएन । पक्राउ परेका नासु रेवन्त खड्काले सीआईबीका केही प्रहरी अधिकारीहरूलाई प्रभावित पारी अनुसन्धान नै असफल बनाउन प्रयास गरेका थिए ।

त्यो विवरण सार्वजनिक भएपछि बल्ल सीआईबीले पनि अनुसन्धान अघि बढायो । र, मुद्दा मिलाउन प्रयास गरेकोमा रितु राई सहित तीन जनामाथि १७ चैत, २०८० मा जिल्ला अदालतमा ठगी मुद्दा पनि दर्ता भएको थियो ।

अन्ततः सुन तस्करीको आरोपमा भन्सारका नासु रेवन्त खड्का सहित दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, साहेब राव मरगले, निर्मल विक लगायतमाथि सुन तस्करीको आरोपमा मुद्दा चल्यो । त्यतिबेला सीआईबीबाट मुद्दा कमजोर बनाउन अनेक प्रयास भएको देखिन्छ ।

सामान ल्याउने ली हाङसुङ र तस्करीमा जोडिएका दाबा छिरिङविरुद्ध मुद्दा चलेको थिएन । यो घटनामा जोडिएपछि पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि समेत अनुसन्धान भएको थिएन ।

भेप चोरीको घटना हुँदा प्रचण्ड सरकारमा थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा पहिलो मुद्दा चल्यो । अनुसन्धान त्यसभन्दा बढी राजनीतिक तहसम्म पुग्न पाएन ।

प्रचण्ड नै प्रधानमन्त्री रहेका बेला सत्ता समीकरण परिवर्तन भएर रवि गृहमन्त्री भए । त्यसपछि महरा पक्राउ परेका हुन्, तर सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानीमा छाडिदियो, मुद्दा चलाएन ।

सरकार परिवर्तनपछि अनुसन्धानको दायरामा नआएका व्यक्तिविरुद्ध पुरक उजुरी पर्‍यो र फेरि अनुसन्धान भयो । २४ भदौ, २०८० मा दाओ जिङ वाङ नामक चिनियाँ व्यक्ति बसेको भाडाको घरबाट जिङ दुङ लेखिएको सेफ बरामद भयो ।

दोस्रो चरणमा दावा छिरिङ र राहुल महरा अनुसन्धानमा तानिए, सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महरासँग कागज मात्रै गराएर छाड्यो । र, जेनजी सरकार गठन भएपछि असोज, २०८२ मा पूर्वसभामुख महरामाथि मुद्दा चलेको हो । सुन तस्करीका विषयसँग सम्बन्धित जिल्ला अदालतमा चारवटा मुद्दा चलिसकेका थिए । भ्रष्टाचारमुद्दा पाँचौ हो ।

जिल्ला अदालत काठमाडौंले नासु रेवन्त खड्का र अर्का व्यक्ति दिनेश बस्नेतको मिलेमतोमा सुन चोरी भएको ठहर गर्‍यो । नासु रेवन्तमाथि ‘शाखा प्रमुख र कार्यालय प्रमुखसँग समन्वय नगरी र जानकारी नगराई सुटकेश सारेको’ निष्कर्ष सहित जिल्ला अदालतले उनीहरूमाथि आपराधिक विश्वासघात गरेको फैसला गर्‍यो ।

जिल्ला अदालतले साढे ६ करोड रुपैयाँ लेनदेन भएपनि त्यसलाई बिगो मानेन । सुन बरामद हुन नसकेको र बेचेको सम्पत्ति लुकाइएको भन्दै जिल्ला अदालतले मालपोत कार्यालयमा जग्गा लेनदेन हुँदाको रजिष्ट्रेसन अंकलाई आधार मान्यो र तीन करोड रुपैयाँ मात्रै बिगो कायम गर्‍ यो । १६ भदौ, २०८१ मा न्यायाधीश कमलप्रसाद पोखरेलले गरेको फैसला विरुद्ध दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।

आन्तरिक छानविनले समेत सामान सारेको देखिएको, त्यही आशयमा प्रमुख भन्सार प्रशासकले कागज गरेकाले सुन चोरी भएको निष्कर्ष सहित जिल्ला अदालतले उनीहरूलाई कैद र जरिवाना गरेको थियो ।

जसले सूचना दियो, उसैमाथि मुद्दा

सुन तस्करी भएको झण्डै साढे दुई वर्षसम्म मौन रहेको अख्तियारले एकाएक अघिल्लो साता एक ट्राभल कम्पनी सहित २८ जनामाथि भ्रष्टाचारमुद्दा दायर गरेको हो । तर, अख्तियारले भन्सार कार्यालयका जो व्यक्तिहरूबाट सुन चोरी भएको भनी प्रतिवेदन तयार गर्नेदेखि अनुसन्धानका लागि पत्राचार गर्ने काम भएको थियो, उनीहरूमाथि नै मुद्दा चलाएको देखिन्छ ।

घटना हुँदा प्रमुख भन्सार प्रशासक अरुण पोखरेल विश्व भन्सार संगठनको कार्यक्रममा भाग लिन इन्डोनेसिया गएका थिए । सुटकेश बरामद भएको भोलिपल्ट मात्रै उनी नेपाल आइपुगेर कार्यालयमा हाजिर भएका थिए । तर, अख्तियारले उनीमाथि समेत हचुवाको भरमा सामान र सुटकेश ल्याउने चिनियाँ नागरिकलाई पासपोर्ट सहित छाडेको आरोप लगाएको छ ।

शुरुमा भन्सारको एक्सरेपछि सामान जफत भइसकेपछि प्रहरीले पनि सुरक्षाका लागि एक्सरेबाट सामानको चेकजाँच गर्छ । तर, अख्तियारले चेकजाँच पार गरेर ल्याइएको भेपका बारेमा प्रहरीको भूमिकामाथि अनुसन्धान गरेन ।

जिल्ला अदालतको मुद्दामा समावेश भएका कागजात अनुसार, भन्सारका केही कर्मचारीहरूले गरेको सोधखोज र अनुसन्धानबाट भेपमा लुकाइएको सुनबारे खुलासा भएको हो । ‘मिलेमतो गरेको भए ती सुटकेसहरू जफत गर्ने नै थिएनौं, छाडिहाल्थ्यौ नी’ भन्ने कर्मचारीहरूको दावीका बाबजुद अख्तियारले उनीमाथि नै तस्करीमा मिलेमतो गरेर भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

जिल्ला अदालत काठमाडौंमा पेश गरेको आरोपपत्रमा नै, प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको जाहेरीले नै मुद्दा अघि बढेको भनी उल्लेख छ । र, उनी त्यो सहित अरु पुरक अभियोगपत्रका समेत जाहेरीकर्ता र सरकारी साक्षी समेत हुन् ।

अख्तियारले आरोपपत्रमा प्रमुख भन्सार प्रशासक पोखरेलमाथि आफ्नो अपराधिक जिम्मेवारी बमोजिम सम्पर्क स्थापित गरी योजनावद्ध रुपमा कसुर गर्ने गराउने मनसायले ७३ वटा बट्टामा रहेको भेपभित्र रहेको सुन बेचबिखन गरी कसुरजन्य कार्य गरेको’ आरोप लगाएको छ ।

तर, उनले सीआईबीमा गरेको कागजातमा भेप बरामद भएपछि तत्कालीन सभामुख महरा र उनका छोरा राहुलले सामान लिलामीका बारेमा बारम्बार चासो देखाएका हुन्, त्यतिञ्जेल भेपभित्र सुन छ भन्ने खुलेको थिएन ।

अख्तियारले भेप जफत गर्ने र त्यसभित्र सुन राखिएको सूचना दिने कर्मचारीहरूमाथि उल्टै तस्करीमा संलग्न भएको आरोपहरू लगाएको छ । भेप जफत भइसकेपछि सुरक्षा र गोपनीयता कायम नगरेको, मूल्यांकन समितिबाट झुटो नमूना मूल्यांकन गराएको, महराद्वय र चिनियाँ नागरिकको समूहसँग मिलेमतो गरेको आरोप उनीहरूमाथि छ ।

प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले नै टर्मिनलको चेक प्वाइन्टबाट भेप ल्याइएको सुटकेश जफत गर्ने आदेश दिएका थिए । उनले अख्तियारमा गरेको बयान अनुसार, एक्सरे परीक्षणका क्रममा त्यहाँ शंकास्पद बस्तु देखिएको थिएन ।

भेप साटिएपछि मात्रै त्यहाँभित्र सुन ल्याइएको खुलासा भएको थियो । अख्तियारले भने उनीमाथि ‘सुन थियो भन्ने जानकारी हुँदाहुँदै उनीहरूले नरोकेको’ भन्ने आरोप लगाएको हो ।

जब कि, जिल्ला अदालतको फैसला अनुसार, एउटा भेप चोर्दा सुन भेटिएपछि कार्यालय प्रमुखलाई जानकारी गराउनुपर्नेमा गोदामका सुरक्षाकर्मी निर्मल विकले भाग पाउने लोभमा अरु सुन पनि बिक्री गर्न तस्करहरूलाई सूचना दिएका थिए ।

भेप साटफेर गर्ने योजना अनुसार उपसचिव मुक्तिप्रसाद श्रेष्ठकै योजनामा सुन राखिएको सुटकेश उनको कार्यकक्षमा राखिएको भनेर समेत अख्तियारले आरोप लगाएको देखिन्छ । जब कि, त्यसको केही साता पहिले मात्रै भन्सार गोदाममा सीसीटीभी जडान भएको थियो ।

त्यस्तै आरोप भन्सार अधिकृत अम्बिकाप्रसाद खनालमाथि छ । उनीमाथि अख्तियारले कार्यालयमा प्राप्त सूचना बदनियतले लुकाएको, सुन भएको भेपलाई सुनरहित भनी सामान्य रुपमा मूल्यांकन गरेको आरोप लगाएको छ । साथै, भेपमा सुन रहेको भन्ने थाह पाएपछि अरुसँग मिलेर सूचना लुकाएको र त्यसको थप परिक्षण समेत नगराएको अख्तियारको आरोप छ ।

तर, जिल्ला अदालतको मुद्दाको कागजात र मिसिलले अख्तियारको दाबी पुष्टि गर्दैन, पहिलो मुद्दाको फैसलामा एयरपोर्ट भन्सारबाट उजुरी आएपछि अनुसन्धान अघि बढेको देखिएको भन्ने उल्लेख छ  ।

जिल्ला अदालतको फैसलामा समेत भनिएको छ, ‘मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नासु रेवन्त खड्का र सो कार्यमा संलग्न अन्य व्यक्ति र समूहको पहिचान गरी आवश्यक अनुसन्धानका लागि एयरपोर्ट भन्सारले उजुरी दिएपछि प्रस्तुत अनुसन्धान अघि बढेको देखिन्छ ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस