सर्लाही घटना : प्रहरीमाथि आक्रमण, पूर्वसांसद फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (१ घण्टा अघि)
  • २४ पटक पढिएको
सर्लाही घटना : प्रहरीमाथि आक्रमण, पूर्वसांसद फरार

सर्लाही, २७ जेठ। सर्लाहीको कविलासीस्थित सलेमपुरमा दुर्घटनाको विषयमा विवाद हुँदा प्रहरीलाई आक्रमण गरेको घटनामा मधेस प्रदेशका पूर्वसांसद जोडिएका छन् । पूर्वप्रदेश सांसद अशोककुमार यादवलाई सर्लाही प्रहरीले पक्राउ गर्न खोजेको छ । तर, उनी फेला परेका छैनन् ।

यादवविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सर्लाहीका एसपी रवीन्द्र पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँमाथि अनुसन्धान भइरहेको छ ।

यादव २०७४ मा मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य थिए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् ।

जेठ २५ मा राति ९ बजेतिर यादवको स्वामित्वमा रहेको ज. १ त.२५५० नम्बरको ट्याक्टरले रोकेर राखेको ना.६ख. ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । ट्रक कविलासी नगरपालिका–८ स्थित अगर्वामा रोकेर राखिएको थियो । ठक्कर दिएर भाग्दै गरेको ट्याक्टरलाई प्रहरीले रोकेर दुवै सवारी चालकलाई छलफल गरेर मेलमिलाप गर्न र कुरा नमिलेमा प्रहरी कार्यालयमा हिँड्न आग्रह गरेको थियो । त्यसपछि ट्याक्टर चालकले अशोक यादवलाई खबर गरेर बोलाएका थिए ।

यादव घटनास्थलमा पुगेपछि उनीसँगै गएका व्यक्तिहरूले प्रहरीलाई घेरेर आक्रमण गरे । यादव नेतृत्वको समूहले प्रहरीलाई आक्रमण गरेर ट्याक्टर भगाएको एसपी पौडेलले बताए । उनले भने– ‘उहाँहरूले तथानाम गाली गर्दै प्रहरीलाई आक्रमण गर्नुभएको थियो, त्यसबारे अनुसन्धान हुँदैछ ।

कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यादवका भतिज कविलासी नगरपालिका–१० सलेमपुर घर भएका १९ वर्षीय विक्रमकुमार यादव र भाञ्जा भारतीय नागरिक २१ वर्षीय प्रियाङ्शु यादव छन् । उनीहरू विरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । पूर्वप्रदेश सांसद यादव पनि सलेमपुरका स्थानीय हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस