रास्वपा तनहुँ अधिवेशन : सभापति जित्ने–हार्ने दुवै पूर्वकांग्रेस नेता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (२ घण्टा अघि)
  • ४२ पटक पढिएको
रास्वपा तनहुँ अधिवेशन : सभापति जित्ने–हार्ने दुवै पूर्वकांग्रेस नेता

काठमाडौं, २७ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तनहुँ सभापतिमा दुई पूर्वकांग्रेस नेताहरूको प्रतिस्पर्धा भएको छ ।

तनहुँमा कांग्रेसको सचिव भइसकेका विश्वनाथ बाँस्तोला र कांग्रेसको प्रशिक्षण विभाग सदस्य बनिसकेका डा. शेषरमण न्यौपानेबीच रास्वपा सभापति पदमा प्रतिस्पर्धा भएको हो । मतदानबाट नेतृत्व चयन हुँदा बाँस्तोला जिल्ला सभापतिमा चयन भए ।

कांग्रेसबाट तनहुँको नेतृत्व गर्दै केन्द्रसम्म पुग्न सक्ने नेताका रूपमा बाँस्तोलाको चर्चा हुन्थ्यो । उनी दुई पटकसम्म तनहुँको सचिव बनेका थिए भने पछिल्लो महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सभापतिमा हार बेहोरेका थिए ।

बाँस्तोलाले तनहुँको क्षेत्र नम्बर १ बाट २०७९ को चुनावमा रामचन्द्र पौडेललाई जिताउन भूमिका खेले । पौडेल राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा तनहुँमा कांग्रेस छाडेर अर्थशास्त्री डा. स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बने । उपनिर्वाचनअघि विश्वनाथ पनि रास्वपा प्रवेश गरेका थिए ।

उनै विश्वनाथ अहिले जिल्ला सभापति निर्वाचित भएका छन् । बाँस्तोला १८७ मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुँदा उनका प्रतिस्पर्धी डा. न्यौपानेले ६४ मत प्राप्त गरेका थिए ।

शेषरमण कांग्रेसका प्रशिक्षण विभाग सदस्यसमेत थिए । शेषरमण तनहुँ–२ बाट चुनावमा टिकटको आकांक्षीसमेत थिए । व्यास नगरको कांग्रेस सभापतिमा आकांक्षी थिए । तर, प्रतिस्पर्धा भने गरेका थिएनन् । शेषरमण प्रदेश प्रतिनिधि समेत बनेका थिए । पराजित भएपछि शेषरमणले भनेका छन्,‘यो अधिवेशन मेरो त्यही ५ वर्षको संघर्ष र विश्वासको एउटा महत्वपूर्ण परीक्षा थियो, जसले म सही बाटोमा छु भन्ने आत्मविश्वास झन् बलियो बनाएको छ ।’

उपसभापतिमा विष्णुबहादुर पन्त १३१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी पदमराज न्यौपानेले १२४ मत पाए । सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवमा दुर्गाकुमार श्रेष्ठ १२७ मतसहित विजयी भए ।

ताजा अपडेट

खोजी गर्नुहोस