हावाहुरीले विद्यालयको छाना उडायो, लाखौंको क्षति भएपछि पठनपाठन प्रभावित

  • Wartman Kal Dainik
  • / पत्रपत्रिका /
  • २०८३ जेष्ठ १३, बुधबार (२० घण्टा अघि)
  • ११ पटक पढिएको
हावाहुरीले विद्यालयको छाना उडायो, लाखौंको क्षति भएपछि पठनपाठन प्रभावित

वर्तमानकाल सम्वाददाता
जेठ १२, रौतहट
गत आइतबार साँझ एक्कासि आएको भीषण हावाहुरी तथा वर्षाले रौतहटको गरुडा नगरपालिका–८ स्थित श्री नयाँ प्राथमिक विद्यालय, बिर्तामा ठूलो क्षति पुर्‍याएको छ । प्राकृतिक विपद्का कारण विद्यालय भवनको छाना उड्नुका साथै विद्यालयभित्र रहेका महत्वपूर्ण शैक्षिक सामग्रीहरू समेत नष्ट भएका छन् ।

विद्यालयकी प्रधानाध्यापक बन्दना देवीका अनुसार बेलुका आएको विनाशकारी हावाहुरीसँगै परेको वर्षाले विद्यालय भवनको टिनको छाना पूर्ण रूपमा उडाएको थियो । छाना उडेसँगै वर्षाको पानी कक्षाकोठाभित्र पसेर महत्वपूर्ण कागजात, पाठ्यपुस्तक, हाजिरी रजिस्टर, शैक्षिक सामग्री तथा अन्य प्रशासनिक अभिलेखहरू भिजेर नष्ट भएको उनले बताइन् ।

प्रधानाध्यापक बन्दनाले विद्यालयले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको भन्दै तत्काल राहत तथा मर्मतको आवश्यकता रहेको उल्लेख गरिन् । “विद्यालयको छाना नै उडेकाले अहिले कक्षाकोठामा बसेर पढाउन सक्ने अवस्था छैन । विद्यार्थीहरूको पठनपाठन पूर्ण रूपमा प्रभावित भएको छ,” उनले दुखेसो पोखिन् ।

हावाहुरीका कारण विद्यालय परिसरमा रहेका केही फर्निचर तथा अन्य संरचनामा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । अहिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू खुला ठाउँ तथा असुरक्षित वातावरणमा बस्न बाध्य भएका छन् ।

विद्यालय व्यवस्थापन समितिले नगरपालिकासँग तत्काल आवश्यक सहयोगको माग गरेको छ । विद्यालय पक्षले नगर प्रमुख, शिक्षा शाखा तथा सम्बन्धित निकायलाई विद्यालयको छिटो मर्मत गरी आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन आग्रह गरेका छन् ।

स्थानीय अभिभावकहरूले पनि प्राकृतिक विपद्ले विद्यालयको अवस्था दयनीय बनेको भन्दै बालबालिकाको भविष्यलाई ध्यानमा राखेर यथाशीघ्र पुनःनिर्माण तथा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । विद्यालयको छाना मर्मत तथा क्षतिग्रस्त सामग्रीको व्यवस्थापन नभएसम्म नियमित पठनपाठन सञ्चालन गर्न कठिन हुने विद्यालय प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस