
सर्लाही,०३ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्र साह कलवारलाई सर्लाहीमा स्थानीय युवाहरूले घेराउ गर्दै चर्को विरोध जनाएका छन् ।
छठ पर्व मनाउन घर फर्किने क्रममा मकवानपुरको भीमफेदीस्थित चिसापानी गढी क्षेत्रमा भएको विद्युतीय सवारी (ईभी) दुर्घटनामा ज्यान गुमाएका परिवारलाई किन भेट्नु भएन दलालको घरमा किन जानु भयो भन्दै सांसद कलवार युवाहरूको आक्रोशको निशानामा परेका हुन् ।
सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद कलवार पीडित परिवारसँग भेटघाट गर्न किन गएन भन्दै स्थानीय युवाहरूले उनलाई ‘दलाल’ भन्दै चर्को नाराबाजी गरेका थिए । युवाहरूले राजनीति गर्न आएको भन्दै प्रश्न उठाउनुका साथै उनको गाडीसमेत घेराउ गरे । परिस्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीको निकै प्रयासपछि उनलाई उक्त घेराबाट बाहिर निकालिएको बताइन्छ ।
छठ पर्वका बेला मकवानपुरको भीमफेदी क्षेत्रमा पर्ने चिसापानी गढीमा ईभी दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–सुन्दरपुरका १३ जनासहित १४ जनाको मृत्यु भएको थियो । उक्त दुःखद घटनापछि पीडित परिवारको अवस्था बुझ्नु पर्नेमा त्यसो नगरेपछि रास्वपाकै कार्यकर्ताहरु तथा समर्थित युवाहरु आक्रोशित बनेर तथानाम भन्दै गरेको भाइरल भिडियोमा सुन्न सकिन्छ ।
उनीहरूले ‘दलालको दैलोमा जाने हो, पीडितको घरमा किन गएनन् ?’, ‘तपाईंलाई कालो झण्डा किन नदेखाउने ?’ र ‘सभामुखलाई पीडितको घरमा किन लगिएन ?’ जस्ता प्रश्न गर्दै विरोध गरे ।
भिडियोमा केही युवाहरूले पार्टीभित्रै टिकटको विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै अपशब्द प्रयोग गरेको समेत सुनिन्छ । घटनाका क्रममा सांसद कलवारको गाडीलाई युवाहरूले घेरेपछि सुरक्षा निकायलाई उनलाई सुरक्षित स्थानमा पुर्याउन निकै प्रयास गर्नुपरेको बताइन्छ । उक्त भिडियोमा सर्लाही प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीको टोलीले परिस्थितिलाई नियन्त्रणमा लिन र सांसद कलवारलाई सुरक्षित स्थानमा पुर्याउन सक्रिय भूमिका देखिन्छ ।
भाइरल भिडियोको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ताको नम्वर ९८५४०५६२२२ मा कल गरेर बास्तविक कुरा बुझ्न खोज्दा प्रहरीलाई समेत आधिकारिक जानकारी नरहेको तथा हामी पनि समाचार देखिरहेको फोन उठाउने अधिकारीले जवाफ दिए ।
साँसद कलवारलाई घेराउ गरेका युवाहरुको हुलमा नेपाल प्रहरीका एसपी र सशस्त्र प्रहरीका अधिकारीहरुलाई देखिएको छ नी भने प्रश्नको जवाफमा ति अधिकारीले जवाफ दिन सकेनन ।
