
काठमाडौं,०३ मंसिर। भारतका लागि नवनियुक्त राजदूत निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
बिहीबार प्रमाणपत्र पेस गरेसँगै उनले औपचारिक रूपमा कूटनीतिक जिम्मेवारी सम्हालेका हुन् ।
यसैगरी, चीनका लागि नवनियुक्त नेपाली राजदूत कल्याणराज शर्मासमेत बिहीबार बेइजिङ पुगेका छन् । उनले चीनको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार अधिकृतसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम छ ।
औपचारिक प्रक्रिया पूरा भएपछि उनले चिनियाँ अधिकारीहरूसँग नियमित कूटनीतिक भेटवार्ता गर्न सक्नेछन् ।भारतीय राष्ट्रपति मुर्मुसमक्ष प्रमाणपत्र पेस गर्ने अवसर विरलै नेपाली राजदूतले पाउने गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि नै पाण्डेको नियुक्ति घोषणा भएपछि भारतीय पक्षले प्रमाणपत्र पेस गर्ने कार्यक्रमको व्यवस्था गरेको थियो । यसले उनलाई प्रधानमन्त्रीको भारत भ्रमण टोलीको सदस्यका रूपमा सहभागी हुने बाटोसमेत खुलेको छ ।
शर्माको बेइजिङ आगमन यस्तो समयमा भएको छ, जतिबेला नेपालले चीनसँगको राजनीतिक सम्बन्धलाई थप सक्रिय बनाउन खोजिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदको टोली अहिले चीन भ्रमणमा छ । टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गरिरहेको छ ।

