गृहमन्त्रीको निर्देशन अटेर, मधेस सीमामा तस्करी बढ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (३ हप्ता अघि)
  • २१० पटक पढिएको
गृहमन्त्रीको निर्देशन अटेर, मधेस सीमामा तस्करी बढ्यो

रौतहट, १८ चैत। मधेस प्रदेश प्रहरी कार्यालयले सूचना संकलनको नाममा घुमुवा परिचालन गर्दा मधेसका आठ वटै जिल्लाका सीमानाकाबाट तस्करी खुलेआम मौलाएको छ । राज्यको नीति, कानुन र गृहमन्त्रीको निर्देशनलाई ठाडै चुनौती दिँदै प्रहरीकै संरक्षणमा सीमावर्ती क्षेत्र तस्करहरूको स्वर्गमा परिणत भएको आरोप स्थानीयस्तरमै चर्किएको छ ।

मधेस प्रदेशका विभिन्न नाकाबाट मदिरा, स्याउ, गिट्टी, बालुवासहितका सामग्री निर्बाध रूपमा तस्करी भइरहेको छ भने भारतबाट चिनी, दाल, चामल, मोटरपार्ट्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य वस्तुहरू भन्सार छलेर नेपाल भित्र्याइँदा वैध व्यापार ध्वस्त बन्दै गएको छ । यसले सीमा बजार मात्र होइन, सदरमुकामका व्यवसाय समेत धराशायी बनाइरहेको छ ।

प्रदेश प्रहरी कार्यालयले आफ्नै मातहतका प्रहरीमाथि अविश्वास गर्दै घुमुवा परिचालन गर्ने र ती घुमुवाले डिआइजीको नाम बेचेर नाका खुलाउन दबाब दिने गरेको आरोप गम्भीर रूपमा उठेको छ । चुनावअघि र त्यसपछिको संक्रमणकालीन अवस्थालाई मौका बनाई घुमुवाहरूले सीमाचौकीमै पुगेर तस्करीका लागि ‘लाइन क्लियर’ गरेको स्रोतहरूको दाबी छ ।

‘डिआइजी गोविन्द थपलियाको नाम लिएर आएपछि हामी बाध्य भयौँ, राति तस्करीका गाडी पास गर्नुपर्‍यो,’ सीमा क्षेत्रमा कार्यरत एक प्रहरी अधिकृतले खुलासा गरे । उनका अनुसार आठै जिल्लामा डिआइजीको नाममा घुमुवा परिचालन गरिएको छ, जसले तस्करीलाई संस्थागत रूप दिएको छ ।

डिआइजी थपलियाले भने घुमुवा नभई सादा पोसाकका कर्मचारी खटाइएको दाबी गरेका छन् । तर, व्यवहारमा तिनै सादा पोसाकका कर्मचारी तस्करीको मुख्य संयन्त्र बनेको आरोप स्थानीय व्यापारी र सर्वसाधारणको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले तस्करी नियन्त्रण भइरहेको दाबी गरे पनि वास्तविकता त्यसको ठिक उल्टो देखिन्छ । सात लाख रुपैयाँ बराबरको सामान बरामद भएको दाबी गरिएको छ, जुन व्यापक तस्करीको तुलनामा नगण्य मानिन्छ ।

स्थानीय व्यापारीहरू भन्छन् ‘तस्करीका सामान सस्तोमा बजारमा आउँछन्, हामीले भन्सार तिरेर ल्याएको सामान महँगो पर्छ, बिक्री हुनै छाड्यो।’ बारा, पर्सा, रौतहट, जनकपुरदेखि सिरहासम्म यही समस्या साझा बनेको छ ।

सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकादेखि छिन्नमस्ता, सोभरणपटीसम्म स्याउ र मदिरा तस्करीको मुख्य मार्ग बनेका छन् । सिरहाको माडर, ठाढी, बरियारपट्टी, झाझपट्टी लगायतका नाकाहरू अहिले ‘भूस्वर्ग’ बनेको स्थानीय बताउँछन्—जहाँ नुनदेखि सुनसम्म तस्करी हुने गरेको छ ।

तस्करीका सामान लहान, गोलबजार र मिर्चैयामा भण्डारण गरेर बिल काटी पहाडी जिल्लासम्म पठाइने गरिएको छ । सीमादेखि गोदामसम्म सामान सुरक्षित पुर्‍याउन घुमुवाको सक्रिय भूमिका रहेको आरोप छ । मोटरसाइकल, टेम्पो, ट्र्याक्टर र मिनी ट्रकहरू यस धन्दाका मुख्य साधन बनेका छन् ।

धनुषाको जटही र औरही नाकामा समेत यही अवस्था छ । केही इमानदार प्रहरी अधिकारीहरूले नाका बन्द गर्न खोज्दा माथिबाट दबाब आएको स्रोतको दाबी छ । कतिपय जिल्लामा त घुमुवाको ‘आतंक’ नै फैलिएको बताइन्छ ।

स्थानीय सर्वसाधारण खुला रूपमा भन्छन् ‘सीमामा तस्करी हुनु अब सामान्य कुरा भइसक्यो । सुरक्षाकर्मीले आँखा चिम्लिएपछि तस्करको राज चल्छ ।’

रोशन कुमार भन्छन्, ‘यो त ओपन सेक्रेट हो सर, लाइन क्लियर भएपछि मात्र सामान आउँछ । प्रहरी नमिलेको भए कसैले हिम्मत गर्ने थिएन ।’

रातको समयमा पारिबाट सामान ल्याएर मोटरसाइकल र साना सवारीमार्फत सहर पठाइन्छ । लाइन क्लियर गर्न तस्कर र प्रहरीका प्रतिनिधि सँगसँगै खटिन्छन् । स्थानीयवासीहरू भन्छन्—‘हामीसँग आँखा, कान र मुख बन्द गरेर बस्नुको विकल्प छैन ।’

सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सिरहाका दर्जनौँ नाकाहरू अहिले तस्करको नियन्त्रणमा रहेको आरोप छ । मदिरा, चिनियाँ स्याउ, कपडा, मोटरपार्ट्स, गुटखा, पान मसाला, ग्यास सिलिन्डरदेखि हरेक सामान भन्सार छलेर वारपार भइरहेको छ ।

सीमावासी दिलिप झा भन्छन् ‘प्रहरी मिलेपछि जे पनि सम्भव छ ।’

यो अवस्था केवल तस्करीको समस्या मात्र होइन, राज्य संयन्त्रकै विफलता र मिलेमतोको संकेत हो । गृहमन्त्रीको निर्देशन नै बेवास्ता हुने, प्रहरीकै मिलेमतोमा तस्करी चल्ने र वैध व्यवसाय धराशायी हुने अवस्था दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्रका लागि घातक बन्दै गएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस