
जनकपुरधाम,२३ असोज। जनकपुरधाम उपमहानगरपालिका–५ जानकी मन्दिर छेउको रहिमपथमा बिहीबार छुरा प्रहारबाट एक युवकको हत्या भयो । साँझ करिब सवा ९ बजे भएको उक्त घटनामा अर्का एक जना गम्भीर भए ।
२२ वर्षीय स्थानीय मोहम्मद इर्साद खानले छुरा प्रहार गर्दा जनकपुर सोनारपट्टी, दाहा चोक बस्ने २४ वर्षीय आमिन साफीको मृत्यु भएको र २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
इर्सादले दुवै जनाको छाती र पेटमा धारिलो छुरा प्रहार गरेका थिए । प्रहरीले छुरा प्रहार गर्ने इर्सादलाई पक्राउ गरिसकेको छ ।
इर्साद यसअघि नै ज्यान मार्ने उद्योगका अभियुक्त रहेको प्रहरीले जनाएको छ । २०८२ फागुन ३ गते जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने २६ वर्षीय मोहम्मद मुस्तफा राइनमाथि उनले खुकुरी प्रहार गरेका थिए ।
बकर इदको दिन इर्सादले मुस्तफालाई घरमा बोलाएर पसलमा लगी घाँटीमा कुखुरी राखेर काट्ने धम्की दिएका थिए । त्यहाँ अन्य युवा पनि थिए । त्यहाँबाट मुस्तफा भाग्न थालेपछि पछाडिबाट लखेट्दै इर्सादले खुकुरी प्रहार गरेका थिए । त्यस क्रममा बायाँ हातमा खुकुरी लागेर मुस्तफा घाइते भएका थिए ।
छुरा प्रहार गर्ने इर्साद टिकटकरसमेत हुन् । उनले टिकटकमा ‘गुण्डा’ र फेसबुकमा एमडी इर्साद खान नामको एकाउन्ट खोलेका छन् । उनले अर्को समुदायलाई लक्षित गरी घृणा, हिंसा, गालीगलोज गर्ने जस्ता अपराध प्रोत्साहन गर्ने गरी दर्जनौं भिडियोहरू बनाएका छन् । उनलाई पक्राउ गरेर कानुनी कारबाही गर्न पहिलेदेखि नै माग उठिरहेको थियो ।
इर्सादलाई कारबाही गर्न माग गर्दै मुस्तफाले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी नै दिएका थिए । प्रहरीले इर्सादविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । त्यस मुद्दामा उनलाई पक्राउ गर्न प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति पुर्जी गत असार ३१ मै लिइसकेको थियो ।
इर्साद पक्राउका लागि जिल्ला प्रहरी कार्यालयले जानकी प्रहरी चौकीलाई साउन १८ मा पत्राचार गरेको थियो । त्यसपछि उनको खोजी हुँदै आएको प्रहरीले जनाएको छ ।
डीएसपी ओमप्रकाश खनालले भने, ‘यसअघि नै इर्सादलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको, धेरै पटक उनकै घरसम्म प्रहरी पुगेको तर फेला नपरेको मेरो जानकारीमा छ,’ डीएसपी खनालले भने ।
मुस्तफालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ पर्न नसकेका इर्साद अहिले भने पक्राउ परेका छन् ।
स्थानीयका अनुसार इर्साद लागुऔषध सेवनकर्ता हुन् । बिहीबारको घटनापछि उनकी आमा ४२ वर्षीया सैमुख खातुनलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
